शनिबार, वैशाख १५, २०८१

कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही गर्न सिफारिस

नेपालखोज २०७८ वैशाख ३ गते २०:१९

सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले ‘फ्लोर क्रस’ गर्ने चार सांसदलाई कारबाही गर्न पार्टीलाई सिफारिस गरेको छ ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएलगत्तै बसेको प्रदेशको एमाले संसदीय दल बैठकले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाहीका लागि सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कणेलले जानकारी दिए ।

सांसदहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरेको कणेलले बताए।

यस्तै बैठकले प्रदेश सांसद देवी ओलीलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सांसद ओलीले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर केहीबेरपछि आफ्नो मत सच्याएका थिए ।

प्रदेशमा शुक्रवार भएको मतदानमा विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको थियो । २० प्रदेश सभा सदस्यको मत चाहिनेमा शाहीले २२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया