शुक्रबार, वैशाख ७, २०८१

नयाँ साल !

विमल वैद्य २०७८ वैशाख ४ गते ८:३०

यो नयाँ साल
उस्तै हुनेछ
जस्तो गए साल बितेको थियो
भित्तामा अर्को एउटा
नयाँ क्यालेन्डरको खात थपिनेछ
पुरानो क्यालेन्डरका माथि ।
रहरहरू बाँझा/बाँझै रहनेछन्
इच्छाहरू टाँगिनेछन्
हिजोजस्तै गरी
सपना/सपना नै रहनेछन्
अनिँदा रातहरू अझ थपिनेछन्,
चराहरू बसेर गीत गाउने हाँगो भाचिएपछि
थाहा छैन यो कानले
वसन्तको गीत
सुन्न पाउँछ/पाउँदैन !
हाँगामा बसेर ढुकुरको जोडीले
नयाँ सालको सुरुमा
माया देखाउन पाउँछ/पाउँदैन
हाम्रा लागि नयाँ साल
केवल रेस्टुरेन्टको टेबलमा उदाउने गर्छ
र त्यही टेबलमा अस्ताउने गर्छ
यो नयाँ साल उस्तै हुनेछ
जस्तो हिजो आएको थियो ।
कुनै आश्चर्य हुने छैन
कायापलट हुने सम्भावना पनि छैन
जीवन उसैगरी बित्नेछ
हिजो बितेजस्तै गरी
बरू थपिनेछन् आशंका र त्रासहरू
मनका तृष्णाहरू बढ्नेछन्
जीवन उहीँ घडीको पेन्डुलमजस्तै झुन्डिरहनेछ
निकास रोकिएको खोलाजस्तै
जमेर ताल बन्नेछ मान्छेको भविष्य पनि
बाँकी पुरूषार्थहरू पनि निदाउनेछन्
उहीँ खाट र ओछ्यानमा
औपचारिकताका लागि फेसबुक र ट्‌विटरमा
शुभकामनाहरू देखिनेछन्
केही खामहरूभित्र शुभकामना लेखिनेछन्
बाँकी सबै उहीँ खामभित्र बन्द हुनेछन्
मान्छेको भविष्य पनि,
नयाँ साल उस्तै गरी आउनेछ
जस्तो हिजो आएको थियो ।

प्रतिक्रिया