मंगलबार, चैत ६, २०८०

डेनमार्कका राजदूतले भने ‘दुई देशको सम्बन्धलाई विस्तार गर्न सकिन्छ’

नेपालखोज २०७८ वैशाख ४ गते १२:३९

काठमाडौं । नेपालका लागि डेनमार्कका राजदूत फ्रेडी भानेले जलवायु परिवर्तनका कारण नेपालका हिमाली क्षेत्र तथा हिमतालमा परेको असरलाई डेनमार्क सरकारले निकै गम्भीर रुपमा लिएको र यस समस्याको समाधानमा नेपालसँग मिलेर काम गर्न डेनमार्क सरकार तयार रहेको बताएका छन् ।

आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न नेपाल आउनुभएका राजदूत भानेले आज स्वदेश फर्कनुअघि उनले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई ठूलो सङ्ख्यामा यहाँका वासिन्दाको जीविकोपार्जनमा समेत नकारात्मक असर गरेकाले यसमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्न आफूले पहल गर्ने उल्लेख गरे ।


जलवायु परिवर्तनको असर विश्वव्यापीरुपमै बढ्दै गएको र हिन्दूकुश हिमालय क्षेत्रमा अझ बढी जटिलरुपीमा देखिएकाले यस क्षेत्रका राष्ट्रहरुबीच सामूहिक प्रयासको खाँचो रहेको उनले बताए । पर्यटकप्रति नेपाली जनताले देखाउने आतिथ्यता र आत्मियता निकै लोभलाग्दो रहेको बताउँदै राजदूत भानेले नेपालको प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र यहाँको जीवनशैली निकै आकर्षक रहेकाले पर्यटनबाटै नेपालले आर्थिक विकासमा फड्को मार्न सक्ने धारणा राखे ।


हिमाल आरोहरणमा जाने पर्यटक तथा पथप्रदर्शकको सुरक्षामा सरकारी निकाय तथा हिमालयन उद्धार सङ्घलगायतका संस्थाहरुको भूमिका निकै प्रशंसनीय रहेको उनले बताए ।

दुई देशबीच लामो घनिष्ट सम्बन्ध रहिआएको र आगामी दिनमा पनि यसलाई अझ जनस्तरमा विस्तार गरी लैजान आफू क्रियाशील रहने बताउँदै उनले लोकतन्त्र र मानवअधिकारको पक्षमा डेनमार्कको नेपाल सरकारलाई निरन्तर सहयोग रहनेछ भनेका छन् । आफूले हिजो ओदोदाको प्रमाणपत्र प्रस्तुत गर्ने क्रममा भएको भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीका विचारप्रति आफू निकै प्रभावित भएको पनि उनले बताए ।

प्रतिक्रिया