मंगलबार, चैत ६, २०८०

ओली पतनको संकेत कर्णालीबाट देखियो : सिंह

नेपालखोज २०७८ वैशाख ४ गते १५:२८

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन सुरु भएको बताएका छन् । उनले त्यसको संकेत कर्णाली प्रदेशमा देखिएको बताए ।

कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाटमा उनले ओली सरकारको आयु सकिएको संकेत कर्णाली प्रदेशमा देखिएको दाबी गरे । अब नेपालको राजनीति फरकधारबाट बग्छ भन्ने स्पष्ट संकेत रहेको नेता सिंहको भनाइ छ ।

अहिले बहुमत पाएँ भन्दैमा ओलीले जथावावी गर्न पाउँदैनन् । उनले भने, ‘ओली सरकारको पतन सुरु भयो । कर्णाली प्रदेशमा त्यसको संकेत देखिएको छ । यो सरकारको आयु अब धेरै छैन ।’ कांग्रेस कमजोर हुँदा लोकतन्त्र पनि कमजोर भएको भन्दै उनले संसदीय पद्धति नै अन्त्य गर्न कम्युनिस्ट लागिपरेको उनको आरोप छ । असंवैधानिक निर्णय लिएको सरकारले गर्ने चुनावको वैधानिकतासमेत नहुने भन्दै नेता सिंहले ओलीले सत्ताको आडमा फिजाएको जालो चिरेर निष्पक्ष निर्वाचनको वातावरणको सुनिश्चितता गर्नुपर्नेसमेत बताए ।

साथै नेता सिंह १४औं महाधिवेशनमा समयको मागबमोजिम कांग्रेसको नेतृत्व गर्न सक्ने नेताको आवश्यक रहेको बताए । लोकतन्त्र जोगाउन कांग्रेसमा अनुशासित नेतृत्व हुन जरुरी छ । अहिले पार्टी पदाधिकारीहरुले नै पार्टी निर्णयको बचाऊ गर्न नसकेको केन्द्रीय समितिको निर्णयबाहिरको अभिव्यक्ति दिँदै हिँडेको बताए । उनले कांग्रेसका बारेमा अनावश्यक टिप्पणी हुने गरेकोप्रति चिन्ता पनि व्यक्त गरे । देश र जनताका लागि कांग्रेसको आगामी महाधिवेशनमा सही नेतृत्व चयन गर्नुपर्नेसमेत उनको भनाइ छ ।

नेता सिंहले पार्टी विधि-प्रक्रियाबाट सञ्चालन हुन नसकेको बताए । कसैलाई माया गरेर पार्टीका महतत्त्वपूर्ण पद दिँदा कांग्रेस कमजोर भएको उनको दाबी छ । कांग्रेसका भविष्य कार्यकर्ताकै हातमा रहेको भन्दै उनले १४औँ महाधिवेशनमा क्षमतावान् नेतृत्व चयन गर्न कार्यकर्तालाई अनुरोधसमेत गरे ।
तस्बिर : यूपी लामिछाने

प्रतिक्रिया