शनिबार, वैशाख १५, २०८१

संखुवासभालाई समृद्ध र विकसित बनाउने पूर्वमन्त्री दीपक खड्काको प्रण

नेपालखोज २०७८ वैशाख ७ गते १४:२३

इटहरी । नेपाली काँग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्काले संखुवासभालाई समृद्ध र विकसित बनाउँने प्रण गरेका छन् ।

इटहरीमा संखुवासभाली समाजसँगको भेटघाट तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता खड्काले संखुवासभाको विकास र संखुवासभालीको सेवाकै लागि आफू लागिपरेको उल्लेख गरेका छन् ।

जनताले दिएको प्रचण्ड मतको दुरुपयोग गर्दै कम्युनिस्ट सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेर आफ्नो व्यक्तिगत स्वार्थमा लागेको प्रमाणित भैसकेको पनि उनले बताए । त्यस्तै पूर्व राज्य मन्त्री खड्काले कम्युनिष्टले देशलाई बर्बादीतर्फ धकेलेको पनि आरोप समेत लगाए ।

हरेक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले मात्र गर्न सक्ने जिकिर गर्दै नेता खड्काले आफू संखुवासभाको विकास र संखुवासभालीहरुको सेवाको लागि राजनीतिमा होमिएको उल्लेख गरेका छन् ।

मुलुकलाई समृद्ध र विकसित बनाउन नेपाली कांग्रेसले गरि खाने अभियान नामक कार्यक्रम ल्याउन लागेको र उक्त कार्यक्रममार्फत बेरोजगार युवाहरुलाई रोजगार र व्यवसायमा जोड्ने उनले बताए । साथै उक्त कार्यक्रमलाई सफल बनाउदै बेरोजगारहरुलाई रोजगारीमा जोड्ने अभियानमा नेपाली कांग्रेस र आफू लागि परेको नेता खड्काले बताएका छन् ।

प्रतिक्रिया