शुक्रबार, वैशाख २१, २०८१

माधवकुमार नेपाललगायतलाई पार्टीबाट निकाल्नु पर्छ : कर्णबहादुर थापा

नेपालखोज २०७८ वैशाख ७ गते १९:४१

काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले माधवकुमार नेपाललगायतलाई पार्टीबाट निकाल्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल खेलकुद माहासंघ राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले माधवकुमार नेपाललाई पार्टीमा राखुञ्जेल भ्रम सिर्जना हुने र मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने षडयन्त्र गरेकाले पार्टीबाटै निस्कासन गर्नुपर्ने बताए ।

नेपाललाई अब ६ महिनाको निलम्बनले नपुग्ने पनि बताए । उनले भने, ‘माधव नेपाललाई अब ६ महिनाको निलम्बनले पुग्दैन । उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ । काम छैन, यहाँ भित्र जति राखिन्छ भ्रम सिर्जना हुन्छ । भ्रमबाटै मान्छेलाई एकत्रित गरेर अन्तै लैजाने उहाँको षड्यन्त्र छ । यो भयङ्कर र जटिल प्रकारको षडयन्त्र उहाँहरुले गर्दै हुनुहुन्छ ।’

नेपाल पक्षले प्रचण्डको महत्वकांक्षालाई मलजल गरेर कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने कसम खाएर लागेको आरोप समेत थापाले लगाए ।

प्रतिक्रिया