शुक्रबार, चैत १६, २०८०

भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्चीको पानी वितरण सुरु

नेपालखोज २०७८ वैशाख ८ गते २१:४६

भक्तपुर । मध्यपुरथिमि नगरपालिका ९ को टिगनीमा रहेको खानेपानी ट्याङ्कीमार्फत बुधवारदेखि मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु गरिएको छ ।

भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो ।

स्थानीयवासीलाई आजदेखि दैनिक १० लाख लिटर मेलम्चीको पानी वितरण गर्ने गरी उद्घाटन गरिएको हो । केही दिनभित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको पानी वितरण हुने भएको छ ।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सांसद बस्नेतले पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न सफल भएको बताउँदै भने, ‘यो नेपाल सरकारको प्रभावकारी काम हो, अब पानीको समस्या समाधान हुन्छ ।’ मध्यपुरथिमि नगरपालिकाका मेयर श्रेष्ठले मेलम्चीको पानी पहिलो पटक काठमाण्डौमा वितरण गरिएको चैत १५ गतेपछि आज थिमिमा यो पानी वितरण गर्ने दोस्रो महत्त्वको दिन भएको बताए ।

कार्यक्रममा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाण्डौ झरेपछि ९० प्रतिशत पानी काठमाण्डौमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताए । पुरानो पाइप लाइनबाट पानी चुहावट हुने, पाइप फुट्ने गरेको बताउँदै उनले तीन सय २० ठाउँमा भएको चुहावट रहेकोमध्ये दुई सय ठाउँको चुहावट रोकेको बताए ।

प्रतिक्रिया