सोमबार, वैशाख ३१, २०८१

त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट : नेपाल फाइनलमा प्रवेश (फोटो फिचर)

नेपालखोज २०७८ वैशाख ९ गते १६:५१

काठमाडौं । नेपाल शीर्ष स्थानमा रहदै घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसियाले १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

खराव सुरुवात गरेको मलेसियाले पहिलो तीन ओभरमा नै दुई विकेट गुमाइसकेको थियो । पहिलो ओभरको चौथो बलमा साद अजिजलाई गुमाएको मलेसियाले तेस्रो ओभरको तेस्रो बलमा अनवर अरुदिनलाई गुमायो । अजिजलाई सोमपाल कामीले एलबीडब्लु धरापमा पारेका थिए । अर्का ओपनर अरुदिनलाई सोमपालले नै आफ्नो स्पेलको दोस्रो ओभरमा कटविहाइन्डमा करण केसीको हातबाट क्याच आउट गराएका थिए ।

त्यसपछि मैदानमा आएका कप्तान अहमद फाइज र विरन्दिप सिंहले मलेसियाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, कप्तान फाइज आठौं ओभरको दोस्रो बलमा आउट हुन पुगे । उनी सुशन भारीको बलमा लङअनमा कुशल भुर्तेलको हातबाट क्याच आउट भएका थिए । फाइजले २१ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै ३१ रनको योगदान दिएका थिए ।

चौथो विकेटको रुपमा मलेसियाले शर्विन मुनियान्दीलाई गुमायो । ३ रनमा खेलिरहेका उनी कमल सिह ऐरीको बलमा एलबिडब्लु आउट भए । यो कमलको टी–ट्वान्टी अन्तर्राष्ट्रियमा डेब्यु विकेट समेत हो । पाँचौ विकेटको रुपमा विरन्दीप सिंह आउट भए । उनलाई कमलले नै गरेको नवौं ओभरको अन्तिम बलमा गरेको लामो सटमा आसिफले शेखले क्याच गर्दै पेभिलियन फर्काएका थिए । उनले १८ बलमा २ चौका सहित १३ रनको योगदान दिए ।

अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ । नेपालले ४ खेलमा ३ जितसहित ६ अंक जोड्यो । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । नेदरल्यान्ड्सले ४ खेलमा ५ अंक जोड्यो । मलेसिया ४ खेलमा १ अंक जोडेर प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रतिक्रिया