सोमबार, वैशाख ३१, २०८१

जीएचसीए ‘बी’ लाई यू-१३ क्रिकेट उपाधि

नेपालखोज २०७८ वैशाख १० गते १८:०५

काठमाडौं । ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ‘बी’ ले एभरफन यू-१३ छात्र जुनियर क्रिकेट लिग-२ को उपाधि शुक्रबार जितेको छ ।

टस जितेको फाइनल प्रतिद्वन्द्वी ओसिसले जीएचसीएलाई ब्याटिङको निम्तो दिएको थियो । एन्जल्स नेसनल स्कुलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा जीएचसीएले ओसिसलाई ४२ रनले पराजित गर्‍यो । जीएचसीएले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनको योगफल खडा गर्‍यो । जीएचसीएले १६ अत्तिरिक्त रन प्राप्त गर्‍यो । विजेताले ३० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार पाए ।

‘म्यान अफ द म्याच’ सार्थक विष्टले अविजित ४४, किशोर ओलीले १४ र इशान श्रेष्ठले ११ रन जोडे । ओसिसका रोहित शर्माले ४ ओभरमा १२ रन खर्चंदै ३ विकेट हात पारे भने निराजन उप्रेतीले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । काभ्या बाँस्कोटा र राजु विकले १-१ विकेट चट्काए । दुई ब्याट्सम्यान रन आउट भए ।

प्रत्युत्तरमा ओसिसले १७ ओभरमा अलआउट हुनुअघि ७१ रन बनायो । निराजन उप्रेती र आशुतोष शाहले समान १२ तथा रोहित शर्माले १० रन जोडे । ओसिसले १९ रन अत्तिरिक्त रनका रुपमा पाएको थियो ।

बलिङतर्फ जीएचसीएका वंश क्षेत्रीले ३ ओभरमा १० रन खर्चंदै २ विकेट लिए । त्यत्ति नै विकेट लिएका गोकुल अधिकारीले ४ ओभरमा १४ रन दिए । निश्चल केसी, प्रचित कुँवर र सार्थक विष्टले १-१ विकेट हात पारे । दुई खेलाडी रन आउट भए ।

प्रतियोगितामा उपाधि विजेता जीएचसीएका वंश क्षेत्री ‘म्यान अफ द सिरिज’ घोषित भए । प्रतियोगिताभर वंशले ८ विकेट लिनुसाथै १२८ रन प्रहार गरे । एन्जल्स स्कुलका युवराज खत्री उत्कृष्ट ब्याट्सम्यान र बलर चुनिए । एन्जल्स हार्ट माविका सन्दीप साउद उदीयमान खेलाडी ठहरिए । विजेता जीएचसीएका आर्यन शाह उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्ट सबैले सुबिसुबाट चार महिनाका लागि निःशुल्क इन्टरनेट सेवा पुरस्कार स्वरुप पाए । दुई विधामा उत्कृष्ट भएका युवराजले थप चार महिना गरी आठ महिनाका लागि इन्टरनेस सेवा पाए ।

विजेतालाई एन्जल्स हार्ट एजुकेसनका अध्यक्ष लीलबहादुर पुन, एन्जल्स स्पोर्ट्स एकेडेमीका प्रमुख कार्यकारी अधिकृत खिमबहादुर थापा, एभरफन चोकोलेटका प्रबन्धक विमल कुँवर, एन्जल्स हार्ट नेसनल स्कुलका प्रिन्सिपल टकबहादुर थापा र निर्देशक विकास शाहीले एक कार्यक्रमबीच पुरस्कृत गरे । मनमैंजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा वैशाख २ गतेदेखि सुरु प्रतियोगितामा मोफसलको एकसहित आठ टिम सहभागी थिए ।

प्रतिक्रिया