शुक्रबार, वैशाख २८, २०८१

नेपाल सुपर लिग आजदेखि सुरु हुँदै , उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै

नेपालखोज २०७८ वैशाख ११ गते ७:०८

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलसँगै प्रतियोगिताको सुरुवात हुनेछ ।

काठमाडौं र ललितपुरबीचको उद्घाटन खेल साँझ ५ः३० बजे सुरु हुनेछ । आज दुबै टिम जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्न चाहन्छ । त्यसैले दुई भ्याली डर्बी क्लबबीचको भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ ।

मुख्य प्रशिक्षक बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको कप्तानी गोलकिपर विकेश कुथुले गर्ने छन् । ललितपुरको कप्तानी अन्जन विष्टले गर्ने छन् । टिमको प्रशिक्षकमा प्रदिप हुमागाई रहेका छन् । तर, प्रतियोगिताको खेल हेर्न दर्शकलाई रंगशाला प्रवेशको अनुमति छैन । कोरोना महामारीको कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता जेठ १ सम्म सञ्चालन हुनेछ ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

प्रतिक्रिया