बिहीबार, वैशाख २०, २०८१

आरम्भ चौतारीका अध्यक्ष पोखरेलद्वारा शपथ ग्रहण

नेपालखोज २०७८ वैशाख १३ गते १५:५६

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका नवनिर्वाचित अध्यक्ष जगत पोखरेलले नेपाल राष्ट्र बैंकमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले अध्यक्ष पोखरेललाई बैंककै केन्द्रीय कार्यालय बालुवाटारमा शपथ ग्रहण गराएका हुन् ।

उनले अब नवनिर्वाचित अन्य सदस्यहरुलाई शपथ गराउने व्यवस्था छ । गत चैत ३१ गते भएको संस्थाको पाँचौं वार्षिक साधारणसभाले संस्थापक समूह ‘क’ बाट प्रतिनिधित्व हुने सञ्चालक चारजना र सर्वसाधारण समूह ‘ख’ बाट प्रतिनिधित्व हुने गरी सञ्‍चालक दुईजनाको पदावधि समाप्त भएकाले ती पदहरुमा नयाँ पदाधिकारी चयन गरेको थियो ।

निर्वाचनबाट संस्थापक समूह ‘क’ बाट पोखरेलसँगै दीपक तिवारी, पुष्पराज ढकाल र सन्तोष पोखरेल सञ्चालक समितिमा निर्वाचित भएका हुन् भने सर्वसाधारण समूह ‘ख’ बाट केशवराज पन्थी र विमल आचार्य चयन भएका हुन् ।

सञ्‍चालकहरुको पहिलो बैठकले संस्थाका संस्थापक अध्यक्ष पोखरेललाई नै चार वर्षका लागि फेरि अध्यक्षमा चयन गरेको थियो । उनले आफ्नो कार्यकालमा आरम्भ चौतारी लघुवित्तलाई देशकै सबैभन्दा ठूलो लघुवित्त वित्तीय संस्था बनाउने अठोट व्यक्त गरेका थिए ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था बनेको हो । एकीकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोबार सुरु गरेको थियो ।

राष्ट्र बैंकले उनीहरुलाई एकीकृत कारोबार सुरु गर्न २०७६ फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो । बैंकको साधारणसभाले गत आव ०७६/७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल कम्पनीको चुक्तापुँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया