आइतबार, वैशाख १६, २०८१

आईपीएल : दिल्लीलाई १ रनले पराजित गर्दै बैंगलोर शीर्ष स्थानमा

नेपालखोज २०७८ वैशाख १५ गते ९:०९

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको रोमाञ्चक खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो ।

कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् । ४८ बल खेलेका कप्तान पन्तले ढिला ब्याटिङ गर्दै ६ चौकाको मद्दतमा अविजित ५८ रन बनाए । अर्कोतर्फ आक्रामक ब्याटिङ गरेका हेतमायरले २५ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा अविजित ५३ रन जोडे ।

त्यसअघि अहमेदावादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

जितपछि ६ खेलबाट १० अंक जोडेको बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । ६ खेल खेल्दा दोस्रो हार व्यहोरेको दिल्ली ८ अंकसहित तेस्रो स्थानमा छ । दिल्लीसँग समान अंक भए पनि चेन्नाई सुपर किंग्स रनरेटमा अगाडि रहँदै दोस्रो स्थानमा छ । 

प्रतिक्रिया