शनिबार, वैशाख १५, २०८१

धनगढी एफसीकाे प्रथम जित

नेपालखोज २०७८ वैशाख १५ गते १२:०५

काठमाडाैं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) मा प्रथम जित हासिल गरेकाे छ । खेलको अन्तिम २२ मिनेट १० जनामा सीमित भएर पनि धनगढीले काठमाडौं रेजर्समाथि मंगलबार ३–० को जित हासिल गरेकाे हो ।पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० गोलअन्तरले पराजित धनगढीले दोस्रो खेलमा उत्ति नै गोलअन्तरको जित हात पार्न सफल भएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा धनगढीले तीनै गोल पहिलो हाफमा गरेको हो । धनगढीलाई खेलको १९औँ मिनेटमै टंक बस्नेतले १–० ले अगाडि बढाएका थिए । उनको प्रहार ‘साइड पोल’मा लागेर फर्किएको अवस्थामा काठमाडौंका गोलरक्षक विकेश कुथुलाई लागेर गोलमा परिणत भएको थियो । त्यसपछि टोलीका अफ्रिकी खेलाडी ओलाडिपो ओलावाले अफिजले लगातार दुई गोल गर्दै धनगढीलाई ३–० ले अगाडि बढाए । काउन्टर अट्याकमा गोल गर्दै अफिजले खेलको २३औँ मिनेटमा धनगढीको अग्रता दोब्बर बनाए । खेलको मध्यभागबाट बल अगाडि बढाएका अफिजले काठमाडौंका एकजना रक्षकलाई बिट गर्दै गोल गरेका थिए । 

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा दर्शन गुरुङले क्रस गरेको बललाई गोलमा परिणत गर्दै अफिजले व्यक्तिगत दोस्रो र टोलीको तेस्रो गोल गरेका थिए । एकपक्षीय देखिएको पहिलो हाफमा यससँगै धनगढी तीन गोलले अघि रहेको थियो । दोस्रो हाफमा काठमाडौंले केही सुधारिएको प्रदर्शन गर्‍यो । यद्यपि, टोलीले गोल गर्न भने सकेन । काठमाडौंविरुद्ध धनगढी खेलको ६८औँ मिनेटमा १० जनामा सीमित भएको थियो । खेलमा २२ मिनेटभन्दा बढी समय धनगढीको १० जनाविरुद्ध खेलेर पनि काठमाडौंले गोल निकाल्न सकेन । 

प्रतिक्रिया