बिहीबार, वैशाख २०, २०८१

कोरोना कहरमा सेना: होल्डिङ सेन्टर स्थापनादेखि शव व्यवस्थापनसम्म

नेपालखोज २०७८ वैशाख १७ गते १४:०३

कञ्चनपुर। सिङ्गो राज्य संयन्त्र कोरोना भाइरस नियन्त्रणका लागि सक्रिय भएका बेला नेपाली सेना पनि आफ्नो नियमित कामबाहेक महामारी नियन्त्रण र व्यवस्थापनमा निरन्तर खटेको छ

गत वर्ष चैतदेखि यहाँ सरकारले गरेको लकडाउनका क्रममा कञ्चनपुरको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क व्यवस्थापन, आगन्तुकको स्वास्थ्य परीक्षण, आइसोलेसन र क्वारेन्टिन सुरक्षादेखि सङ्क्रमितको शव व्यवस्थापनमा खटिएको सेनाले कोरोनाको दोस्रो कहर आउँदा सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात् गर्दै सक्रियता बढाउँदै लगेको छ ।

भारतबाट कोरोना त्रासदीबीच नेपाली स्वदेश फर्किंदा सेनाले यहाँको गड्डाचौकी नाकामा दिइएको जिम्मेवारीअनुसार होल्डिङ सेन्टर निर्माणको तयारीमा रहेको श्रीदल गुल्म भगतपुर ब्यारेकले जनाएको छ ।

होल्डिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारले आर्थिक सहयोग र स्थानीय तहले जग्गा उपलब्ध गराउनुपर्ने निर्देशन केन्द्रको रहेको छ ।

सैनिक संरचनामा कञ्चनपुरको जिम्मेवारी पाएको सेनाको श्रीदल गुल्मले हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु भएका १२ जनाको शव महाकाली नदीमा व्यवस्थापन गरिसकेको छ ।

महामारीका बेला गठित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले दिएको जिम्मेवारी र माथिल्लो निकायको निर्देशनअनुसार सेनाले कोरोना कहरबीच त्यसको नियन्त्रण र जनताको स्वास्थ्य सुरक्षाका निम्ति खटिएको श्रीदल गुल्मका गुल्मपति सेनानी प्रतीक सिंह कार्कीले बताए ।

त्यसैगरी भीमदत्त नगरपालिकामा सेनाकै जनशक्ति सहयोगमा निर्माण भएको १०० शय्याको आइसोलेसन कक्षको सुरक्षा जिम्मेवारी पनि अहिले सेनाले निभाउँदै आएको छ ।

कोरोना कहरकै समयमा प्रहरीलाई सुरक्षामा सहजीकरण होस् भनेर कारागारको सुरक्षा पनि सेनाले गर्दै आएको छ । गत वर्ष यहाँ तैनाथ सेनाको गुल्म गड्डाचौकी नाकाबाट स्वदेश फर्किने नेपालीलाई गरिएको भोजन व्यवस्थापनमा पनि खटिएको थियो । कञ्चनपुरमा बिहीबार राति पनि उपचारका क्रममा दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिक्रिया