आइतबार, जेठ ६, २०८१

कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल

नेपालखोज २०७८ वैशाख २० गते १८:०५


काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले कोरोनाको डरले घरमा जगेडा राखिएको अक्सिजन सिलिण्डर फिर्ता गर्न अपिल गरेका छन् ।

कोरोना संक्रमण भइहाले अक्सिजनले बचाउने भन्दै सर्वसाधारणहरुले आफुसँग भएको अक्सिजन सिलिण्डर फिर्ता नगरेपछि अहिले अभाव देखिएको छ ।

अक्सिजनको सिलिण्डर व्यक्तिको घरमा, जलविद्युत आयोजनामा ठुला गाडीको वर्कसपमा र सुनका गरगहना बनाउने कारखानामा सिलिण्डर जगेडा रहेको अध्यक्ष बस्नेतले बताए ।

उनले भने ‘सिलिण्डर घरमा राख्ने सबैले कम्पनीमा फिर्ता गरिदिनुस् । यसले मान्छेको ज्यान बचाउँछ । यो ठुलो दान गरे सरह हो । यस्तो बेला सिलिण्डर घरमा राख्नु भनेको अपराध हो ।

सिलिण्डरको अभावले कोही मान्छे छट्पटाएर मर्ने अवस्था आयो भने पाप गरे सरह हुन्छ ।’ यस्तै अध्यक्ष बस्नेतले ठुला ठुला जलविद्युत आयोजनामा पनि अक्सिजन सिलिण्डरको ठुलो भण्डारण रहेकोले फिर्ता ल्याउनुपर्ने बताए । ठुला आयोजनामा फलाम काट्न, जोड्न अक्सिजनको आवश्यकता पर्छ ।

उनले भने– ‘अधिकांश जलविद्युत आयोजनामा अक्सिजनका सयौँ सिलिण्डर होल्ड भएर बसेको छ । ति सबै सिलिण्डर फिर्ता गर्नुपर्छ । मान्छेको जीवन बचाउनु अहिलेको पहिलो काम हो ।’

अहिले अक्सिजन उत्पादन गर्ने उद्योगहरुले आफ्नो उत्पादन अस्पताललाई मात्र दिनुपर्ने अध्यक्ष बस्नेतले बताए । अक्सिजन उत्पादन उद्योगहरुलाई सरकारले गर्नुपर्ने सबै सहयोग गरिने पनि अध्यक्ष बस्नेतले बताए।

प्रतिक्रिया