शुक्रबार, वैशाख १४, २०८१

लुम्बिनी सभागृहको काम अन्तिम चरणमा

नेपालखोज २०७८ वैशाख २१ गते १२:५९


लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा ‘अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान गृह’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विसं २०७६ असारसम्म सक्ने लक्ष्य राखिएको सभाहलको काम निर्धारित समयमा नसकिएपछि ठेक्काको अवधि थपिएको थियो । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि पहिलो चरणको काम थपिएको म्यादभित्रै करिब सकिएको कोषले बताएको छ ।

विसं २०७४ को बुद्ध जयन्ती मूल समारोह हावाहुरीका कारण बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तीन हजार क्षमताको अस्थायी सभाहल र तीन वर्षभित्र पाँच हजार क्षमताको स्थायी सभाहल निर्माण गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको सोही निर्देशनानुसार कोषले तीन हजार क्षमताको अस्थायी सभाहल निर्माण गरी त्यसपछिका बुद्ध जयन्ती समारोहहरु आयोजना गर्दै आएको छ । सँगसँगै स्थायी सभाहल निर्माणको काम पनि शुरु भएको थियो ।

स्थायी सभाहलअन्तर्गत पहिलो चरणको काम करिब सकिन लागेको छ भने दोस्रो चरणको काम पनि शुरु भएको छ । लुम्बिनीमा बुद्ध जयन्ती समारोह तथा विभिन्न धार्मिक कार्यक्रम तथा ध्यान गर्न सभाहल नभएपछि विकास कोषले आधुनिक र भव्य सभाहल निर्माण शुरु गरेको हो ।

दोस्रो चरणको काम सम्पन्न हुँदा यो सभाहल नेपालकै ठूलो र अत्याधुनिक सभाहलका रूपमा तयार हुनेछ । सभाहल दक्षिण एशियामै पहिलो हुने कोषले जनाएको छ । यो सभाहल लुम्बिनी गुरुयोजनामा समावेश नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा र आवश्यकताका आधारमा निर्माण गरिएको कोषको भनाइ छ ।

पच्चीस सय ६२औँ बुद्ध जयन्तीका अवसरमा २०७५ साल वैशाख १८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यो सभाहलको शिलान्यास गरेका थिए । सभाहलसहितका संरचनाहरु बनाउन अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले रु ३१ करोड ७९ लाखमा ठेक्का पाएको थियो ।

यहाँ सभाहल मात्रै ३८६।८८ वर्गमिटरको बन्दैछ । पहिलो चरणमा सभाहल, दुईवटा शौचालय र कन्ट्रोल रुम करिब सम्पन्न भएका छन् । हालसम्म सभाहलको भुइँ, छानो फल्स सिलिङ र अन्य फिनिसिङका काम सकिएका छन् । दोस्रो चरणअन्तर्गत साभहलको वरिपरि पार्टिसन गर्ने काम शुरु भएको छ ।

त्यस्तै दोस्रो चरणमै रोष्टममा उभिएर गरिने भाषणलाई १६ वटा भाषामा उल्था हुने अत्याधुनिक प्रविधि जडान गरिनेछ । आगामी बुद्ध जयन्तीको मूल समारोह सोही सभाहलमा आयोजना गर्न मिल्ने गरी काम भइरहेको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।
आगामी डेढ वर्षभित्र दोस्रो चरणका सबै काम सकेर सभाहल हस्तान्तरण गर्ने योजनानुसार काम भइरहेको बाबुल जेभीका प्रबन्धक सन्तोष अधिकारीले बताए । कोरोना महामारीका कारण पहिलो चरणको काम निर्धारित समयमा सम्पन्न गर्न नसकिए पनि दोस्रो चरणको काम समयमै सम्पन्न हुने उहाँको अपेक्षा छ ।

अड्तीस हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको सभाहलको छानो ५० एमएमको इपिएस स्यान्डबीच प्यानलको ट्रसबाट बनेको छ । सभाहलको उचाइ १२।३३ देखि २०।४९ मिटरसम्म छ ।

दक्षिण एशियाकै नमूना र फरक शैलीमा स्टिल र फलामको प्रयोगबाट सभाहल डिजाइन गरिएको कोषले बताएको छ । सभाहलको भुइँ र पिलरहरुमा ढलानपछि मोजाइक प्रयोग गरिएको छ ।

कोषका वरिष्ठ इन्जिनीयर सरोज भट्टराईका अनुसार कोरियाली गुम्बा शैलीको गोलाकार छानो र छानोको बाहिर केन्द्र भागमा बुद्धका दुईवटा आँखा ९स्वयम्भूका दुई आँखा० को आकृति बनाउने गरी डिजाइन गरिएको छ ।

दोस्रो चरणमा विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, कम्पाउन्ड वाल, ल्यान्ड स्केप, पार्किङ, विद्युतीकरण, बुद्ध मूर्तिसहितको आकर्षक वाटर फाउन्टेन, सौन्दर्य अभिवृद्धि, दुई शौचालय भवनलगायतका जनरल सिभिल वर्कका काम शुरु भएका छन् । यो कामका लागि झण्डै रु ४० करोड लाग्ने अनुमान छ ।

कार्यक्रम गर्ने सुविधा सम्पन्न हल नभएकै कारण यहाँ केन्द्रित अधिकांश कार्यक्रम लुम्बिनीबाहिर आयोजना हुने गर्छन् ।
लुम्बिनी विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र हो । देशको प्रमुख पर्यटकीय केन्द्र बनेको यो पवित्रस्थलमा बर्सेनि स्वदेशी र विदेशी गरी करीब १६ लाख पर्यटक आउँछन् ।रासस

प्रतिक्रिया