शुक्रबार, वैशाख १४, २०८१

भेरी अस्पतालमा अक्सिजन ट्यांक जडान

नेपालखोज २०७८ वैशाख २१ गते १४:३६

नेपालगन्ज । पश्चिम नेपालको कोरोना उपचार केन्द्र बनेको नेपालगन्जस्थित भेरी अस्पतालले अक्सिजन अभाव हुन नदिन अक्सिजन भण्डारण ट्याङ्क जडान गरेको छ । कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभावको अवस्था आएपछि सो समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्न अक्सिजन ट्याङ्क जडान गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए।

८२ लाखको लागतमा अक्सिजन लिक्युड ट्याङ्क जडान गरिएको हो । उक्त ट्याङ्कमा ३१ हजार लिटर अक्सिजन ग्यास भर्न सकिन्छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट नभएकाले ट्याङ्कमा अक्सिजन भण्डार गरिनेछ । अक्सिजन आवश्यक पर्ने बिरामी थपिने क्रम बढेपछि अस्पताल प्रशासनले दीर्घकालीन समाधानको बाटो खोजेको हो । केही दिनभित्रै ट्याङ्क सञ्चालनमा आउने अध्यक्ष धितालले बताए।

अस्पतालको कोभिड वार्डमा बिरामीको चाप बढेसँगै अक्सिजनको माग पनि बढेको छ । दैनिक २५० देखि ३०० थान अक्सिजन सिलिन्डर खपत भइरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाश थापाले बताए । एउटा अक्सिजन सिलिन्डरका लागि रु ९१५ खर्च हुन्छ । नेपालगञ्जमा दुई वटा मात्रै अक्सिजन सिलिन्डर आपूर्तिकर्ता छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट तरल अक्सिजन आपूर्ति गरी सिलिन्डर भरेर नेपालगञ्जका विभिन्न अस्पतालमा दिने गरेका छन् । कोरोना भाइरस सङ्क्रमित बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जाँदा अक्सिजन दिएर बचाउन सकिने डा थापा बताए ।

प्रतिक्रिया