बुधबार, वैशाख १२, २०८१

बढ्यो संक्रमण, अन्योलमा एसईई

नेपालखोज २०७८ वैशाख २२ गते ६:२१

काठमाडौं । कोभिड–१९ को दोस्रो लहर बढेसँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षामा अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ ।

राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण परीक्षालाई लिएर यतिबेला विद्यार्थी, अभिभावक तथा शिक्षक निकै तनावमा छन् । शिक्षाविद्हरुले एसईई तथा कक्षा १२ बाहेकका अन्य कक्षाको परीक्षा नलिईकनै कक्षा चढाउनुपर्ने सुझाव दिएका छन् र शिक्षा निकाय पनि त्यही दिशातर्फ अगाडि बढेको बुझिएको छ ।

गत २०७७ वैशाख २ गतेबाट कक्षा १० को पठनपाठन सुरु हुनुपर्नेमा बन्दाबन्दीले असारबाट वैकल्पिक माध्यमबाट पठनपाठन थालिएको थियो तर सबै विद्यार्थीको पहुँचमा वैकल्पिक माध्यम पुग्न सकेको थिएन । गत मंसिर/पुसबाट बल्ल कक्षाकोठाभित्र प्रत्यक्ष पठनपाठन थालियो । त्यस्तै कक्षा १२ को पठनपाठन सुरु भएको ६ महिना पनि भएको छैन । यसले गर्दा कक्षा १० र १२ को सबै कोर्स पूरा भइसकेको छैन । दुर्गमका कतिपय विद्यालयमा विज्ञान र गणित विषयको कोर्स ६० प्रतिशतसम्म सकिएको अवस्था छ ।

गत वर्ष परीक्षा सुरु हुनुभन्दा एक दिनअघि एसईई स्थगित गरिएको थियो । गत वर्ष कक्षा १० र १२ का विद्यार्थीले पूरै अवधिसम्म पढ्न पाएका थिए । तयारी गरेका थिए । तर यस वर्ष पूरै अवधि पढ्न पाएका छैनन् र दोहोर्‍याएर अभ्यास गर्न त टाढाकै कुरा कोर्स नै पूरा हुन सकेको छैन । गत वर्ष एसईईमा आन्तरिक मूल्यांकनका आधारमा र कक्षा १२ मा ४० प्रतिशत भारको लिखित तथा बाँकी अन्तरिक मूल्यांकनका आधारमा परीक्षा लिइएको खबर गोरखापत्रमा छ ।

पाठ्यक्रम विकास केन्द्रका पूर्व कार्यकारी निर्देशक दिवाकर ढुंगेलले महामारीमा परीक्षा लिनै पर्छ भन्नेमा बौद्धिक तर्क नरहेको बताउँछन् । ‘महामारीका समयमा आवश्यक पर्ने कुनै प्राविधिक जनशक्ति छान्न परीक्षा सञ्चालन गर्नु एउटा कुरा हो तर यो परम्परागत परीक्षा लिनु आवश्यक छैन, लिनु हुन्न,’ उनी भन्छन् ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षालाई दुई महिना धकेल्नु उपयुक्त हुने तर्क प्रस्तुत गर्छन् । उनी भन्छन्, ‘छापिएका प्रश्नपत्र विद्यालयलाई नै उपलब्ध गराऔँ । विद्यालयले उपलब्ध साधनस्रोतका आधारमा उपयुक्त लागेको विधिबाट परीक्षा लिन्छ । उसैले उत्तरपुस्तिका परीक्षण गरेर नतिजा तयार गर्नेछ ।’

प्रतिक्रिया