आइतबार, जेठ ६, २०८१

‘भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन निर्देशन’

नेपालखोज २०७८ वैशाख २२ गते ७:४१

झापा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा निगरानी कसिलो बनाउन निर्देशन दिएका छन् ।

मङ्गलबार पूर्वीनाका काँकडभिट्टाको अनुगमनमा गएका मन्त्री कार्कीले मेची भन्सार कार्यालयमा सरोकारवाला निकायसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुुन् । त्यसक्रममा उनले होल्डिङ सेन्टरलाई व्यवस्थित तुल्याउन पनि निर्देशन दिए ।

कोभिड–१९ को दोस्रो लहर नियन्त्रणका लागि प्रदेश सरकार सम्भव सबै उपाय अवलम्बनमा कटिबद्ध रहेको उनले बताएका छन् ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्चस्तरीय टोलीसहित अपराह्न त्यहाँ पुुगेका मन्त्री कार्कीले काँकडभिट्टा नाकाको होल्डिङ सेन्टर र जाँचको प्रत्यक्ष निरीक्षण गरेका थिए ।

काँकडभिट्टा नाकामा निर्माणाधीन एक हजार क्षमताको होल्डिङ सेन्टर र सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सामना गर्दै आएका समस्याका बारेमा पनि उनले जानकारी लिएका थिए । नाकामा हाल मेची पुलकै छेउमा नेपाली सेनाले बनाएको तीनवटा टेन्टमा २५ जना क्षमताको होल्डिङ सेन्टर सञ्चालित छ । सेनाले काँकडभिट्टा खेलमैदानमा एक हजार क्षमताको होल्डिङ सेन्टर निर्माणका लागि काम थालिसकेको छ ।

प्रतिक्रिया