डोटीमा अझै बन्न सकेन क्वारेन्टिन र आइसोलेसन

नेपालखोज २०७८ वैशाख २२ गते ११:०८

डोटी । दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन् ।

क्वारेन्टिन निर्माण नगरिएका कारण भारतबाट आएकाहरू सिधै गाउँ जाने तथा समुदायमा घुलमिल हुँदा कोरोना सङ्क्रमणदर फैलिँदै गएको स्वास्थ्यकर्मी बताउँछन् ।

दैनिकजसो भारतलगायत देशका विभिन्न स्थानबाट स्थानीयवासी जिल्ला भित्रिने क्रम बढिरहे पनि बाहिरबाट आउने व्यक्तिको तथ्याङ्क लिने, व्यवस्थापन गर्नेलगायत कामको शुरुआतसमेत नगरिएको दिपायल सिलगढी नगरपालिका-४ का मदन कामीले बताए ।

अघिल्लो वर्ष भारतलगायत तेस्रो मुलुकबाट आएकाहरूको व्यवस्थापनमा सक्रिय देखिएका यहाँका स्थानीय तहका जनप्रतिनिधिसमेत यस वर्ष सुस्त देखिएका छन् । कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका नाममा जिल्लाका नौवटै स्थानीय तहले गत आर्थिक वर्षको फागुनदेखि असार महिनासम्ममा करिब रु १२ करोड खर्च गरेका थिए तर यस वर्ष कसैले पनि क्वारेन्टिन र आइसोलेशन निर्माण गर्न चासो देखाएका छैनन् ।

तत्कालीन समयमा कोरोना सङ्क्रमण रोकथाम तथा उपचारका लागि क्वारेन्टिन, आइसोलेशनलगायत विषयमा रकम खर्च गरेको बताइएको थियो । सङ्क्रमण रोकथामका लागि गत वर्ष निर्माण गरिएका कुनै पनि संरचना यस वर्ष देखिँदैनन् ।

पछिल्लो समय जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २३२ पुगेको छ । त्यसमध्ये २२० होम क्वारेन्टिनमा रहेका र १२ को सामान्य उपचार भइरहेको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।

सङ्क्रमितमध्ये चारले मात्रै कोरोना जितेका छन् भने दुई जनाको मृत्यु भइसकेको छ । भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिक बिरामी हुँदा र ज्वरो आउँदासमेत अस्पताल नआउने तथा कसैलाई पनि जानकारी नदिने गरेका कारण झनै समस्या हुँदै आएको स्वास्थ्यकर्मी बताउँछन् ।

मङ्गलबार मात्रै थप ३१ मा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा ५२ नमूनाको पिसिआर परीक्षण गर्दा २३ तथा ४४ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा आठ जना गरी मङ्गलबार साँझ ३१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी महेश बोहराले बताए ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार भारतबाट रोजगारी गरी हालसम्म जिल्लामा पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । उनीहरू सबै गाउँमै गएका र त्यहाँ खुलेआम समाजमा घुलमिल भएका कारण जिल्लामा कोरोना सङ्क्रमण बढ्ने तथा गाउँबाटै कोरोना महामारी फैलिन सक्ने जोरायल गाउँपालिका–५ का स्थानीयवासी तथा शिक्षक प्रकाशबहादुर रावलले बताए ।

यहाँका स्थानीय तहलाई क्वारेन्टिन तथा आइसोलेशन निर्माणका लागि पटक–पटक आग्रह गर्दासमेत निर्माण हुन नसकेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले बताए ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहमा क्वारेन्टिन तथा आइसोलेशन बनाउन पटक–पटक पत्राचार गर्दासमेत स्थानीय तहका प्रमुखहरूले चासो नदेखाएको आरोप छ ।

प्रतिक्रिया