माओवादीले सरकारको समर्थन फिर्ता लिएको पत्र बुझायो

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बुधबार बिहान संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई समर्थन फिर्ताको पत्र बुझाएका हन् ।
हिजो (मंगलबार) बसेको स्थायी कमिटी बैठकले सरकारलाई समर्थन नरहेको पत्र संसद सचिवालयमा बुझाउने निर्णय गरेको थियो ।
माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । यही वैशाख २७ गते बस्ने संसदको विशेष अधिवेशनमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदैछन् ।
संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलगत्तै नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
ओलीको विकल्पमा नयाँ सरकार गठनको कसरत गर्दै आएको माओवादीले सरकारलाई दिएको समर्थन भने कायमै राखेको भन्दै आलोचना हुँदै आएको थियो ।

प्रतिक्रिया