ओलीको प्रस्ताव देउवाद्वारा अस्वीकार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव कांग्रेस सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा भएको छलफलमा नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले नै समर्थन गर्न नसकिने स्पष्ट गरेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए तर आफूहरूले अहिलेकै अवस्थामा विश्वासको मत दिन नसकिने स्पष्ट पारेको नेता महतले बताए ।
लोकतान्त्रिक मूल्य र मान्यताको विषय व्यवहारमा देखिनुपर्ने भन्दै कांग्रेसका नेताहरूले अहिलेकै अवस्थामा सत्ता समीकरणको कुनै सम्भावना नरहेको बताएका थिए ।
देउवालाई भेट्न प्रधानमन्त्री ओली नेताहरूसहित बूढानीलकण्ठ परेका थिए । छलफलमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृह मन्त्री रामबहादुर थापा बादल र अर्थ मन्त्री विष्णु पौडेल सहभागी भएका थिए ।
यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशशरण महत, पूर्णबहादुर खड्का, शशाङ्क कोइरालालगायत नेताहरू सहभागी भएका थिए ।

प्रतिक्रिया