सोमबार, वैशाख १७, २०८१

चरिकोटमा अत्याधुनिक पीसीआर प्रयोगशाला : मन्त्री बस्नेत भन्छिन्- थप जनशक्ति प्रदेश सरकारले पठाउँछ

नेपालखोज २०७८ वैशाख २२ गते २०:४७

काठमाडौं । दोलखामा पहिलोपटक पीसीआर परीक्षणका लागि प्रयोगशाला सुरु भएको छ । दोलखाको भीमेश्वर नगरपालिकास्थित चरिकोट अस्पतालमा आज (बुधबार) प्रयोगशालाको उद्घाटन गरिएको हो । प्रयोगशाला चौबीसै घण्टा चलाए ५०० सयसम्म स्वाब परीक्षण गर्ने क्षमता रहेको जनाइएको छ ।

दक्ष जनशक्तिसमेत लगेर प्रयोगशालाको उद्घाटन गरेको वाग्मती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला धुलिखेलका प्रमुख डा. नारायणबहादुर कार्कीले बताए । प्रयोगशालामा दोलखासँगै रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीबाट स्वाब संकलन गरेर ल्याउन सकिने पनि कार्कीले बताए ।

चरिकोटमा प्रयोगशाला सुरु गरिएसँगै वाग्मती प्रदेशअन्तर्गतका प्रयोगशालाको संख्या ६ पुगेको छ । यसअघि धुलिखेल, नुवाकोट, भक्तपुर, हेटौंडा, सिन्धुलीमा प्रयोगशाला सञ्‍चालनमा छन् ।

‘थप जनशक्ति प्रदेश सरकारले पठाउँछ’
वाग्मती प्रदेश, सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले कोरोना संक्रमण बढ्दै गएकाले दोलखासहित आसपासका जिल्लाको पीसीआर परीक्षणका लागि सहज हुने भएकाले प्रयोगशाला सञ्‍चालनमा ल्याएको बताइन् ।

मन्त्रालयले केन्द्रीय जनस्वास्थ्य प्रयोगशालासँग समन्वय गरेर तत्कालै प्रयोगशाला सञ्‍चालनमा ल्याएको र अहिले न्यूनतम जनशक्ति भए पनि थप जनशक्ति प्रदेश सरकारले पठाएर प्रयोगशालालाई पूर्ण क्षमतामा सञ्‍चालन गर्ने बताइन् ।

प्रतिक्रिया