शुक्रबार, वैशाख ७, २०८१

कपिलको सर्ट मुभी कर्मा : लाइफ इज ए बुमर्‍याङ, यु गेट ह्‍वाट यू गिभ

नेपालखोज २०७८ वैशाख २३ गते ९:०२

काठमाडौं । डा. कपिल रिजाल निर्देशित सर्ट मुभी कर्मा : लाइफ इज ए बुमर्‍याङ, यू गेट ह्‌वाट यू गिभ हालै युट्युबमा सार्वजनिक भएको छ ।

अंग्रेजी भाषामा तयार भएको चलचित्र जस्तो कर्म गर्‍यो, त्यस्तै फल पाइन्छ भन्ने विषयमा केन्द्रित छ । २६ वर्षदेखि लन्डनमा बसी आफूलाई सफल तथा लोकप्रिय दन्त चिकित्सकका रुपमा उभ्याउन सफल रिजालको निर्देशनमा बनेको यो सर्ट मुभी उनकै घरेलु फिल्म निर्माण कम्पनी केआर प्रोडक्सन लन्डनको ब्यानरमा निर्माण गरिएको छ ।

हलिउडका नाम चलेका प्राविधिकको समेत संलग्नता रहेको यो चलचित्रमा लन्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो ट्यांक) मुख्य भूमिकामा छन् । लन्डनकी डेली एलन नायिकाको भूमिकामा देखिएकी छिन् । उनीहरुका साथमा चलचित्रमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनको पनि अभिनय छ ।

११ मिनेट २२ सेकेन्डको सस्पेन्स थ्रिलर श्रेणीमा रहेको यो चलचित्रमा कपिलकै कथा छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन् । स्टोरी बोर्डिङ ग्रेम जोन्स, संगीत भासोन ब्लु, स्टन्ट संयोजन इअन भ्यान टिम्परली, छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्ली, भिजुअल इफेक्ट प्लुटस स्टुडियोको रहेको यो चलचित्रको कार्यकारी निर्माताका रुपमा सपनकुमार राई, मिनो ओज, डेली एलन र सुमन श्रेष्ठ छन् ।

चर्चित स्त्री रोग विशेषज्ञ डा. भोला रिजालका पुत्रसमेत रहेका डा. कपिल । पेसाले दन्त चिकित्सक हुन् । तर फिल्म निर्देशनमा पनि उनी सक्रिय छन् । साढे दुई दशकदेखि लन्डनमा बस्दै आएका कपिलले चिकित्सा क्षेत्रबाट बचेको समयको सदुपयोग गर्दै छोटा फिल्म तयार पारेर आफ्नो पिताको पथ पछ्याएको देखिन्छ ।

यसअघि दुईवटा छोटो चलचित्र बनाइसकेका कपिलले नेपाल र लन्डनमा गरी हालसम्म करिब दर्जन म्युजिक भिडियोसमेत निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया