मंगलबार, चैत ६, २०८०

कोलम्बियामा ८ दिनदेखिको प्रदर्शन रोकिएन : ३७ को मृत्यु, ५ सय बढी घाइते

नेपालखोज २०७८ वैशाख २३ गते १५:५०

बोगोटा । कोलम्बियामा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै गएको छ । आठ दिनदेखि जारी प्रदर्शनमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोलम्बियाको बोगोटोको मुख्य स्क्वायरमा हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीलाई हटाउन प्रहरीले अश्रु ग्यास प्रहार गर्नुका साथै लाठीचार्जसमेत गरेको छ । कतिपय स्थानमा गोलीसमेत चलेको समाचार संस्था अलजजिराले उल्लेख गरेको छ ।

प्रदर्शनकारीहरूले भने प्रहरी दमनबीच आन्दोलन जारी रहने घोषणा गरेका छन् । राष्ट्रपति इभान डुकेले ‘ट्याक्स रिफर्म’ कानुन ल्याएपछि कोलम्बियामा गत सातादेखि प्रदर्शन सुरु भएको हो । सरकारले प्रदर्शनपछि ‘ट्याक्स रिफर्म’ कानुन फिर्ता लिए पनि प्रदर्शन भने रोकिएको छैन ।

प्रदर्शनकारीहरूले कानुन फिर्ता लिएपछि सरकारले त्यसलाई परिवर्तन भने नगरेको भन्दै सडक संघर्ष जारी रहने बताएका छन् । त्यहाँ सरकारविरुद्ध प्रदर्शनमा हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ । ५ सयभन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले पक्राउसमेत गरेको छ । -अलजजिरा

प्रतिक्रिया