शनिबार, वैशाख १५, २०८१

सरकारले बौद्धिक सम्पत्तिको संरक्षण गर्नुपर्छ : हरिवंश आचार्य

नेपालखोज २०७८ वैशाख २४ गते १८:४९

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको दोस्रो दिन आज चलचित्र उद्योगले नेपालमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयमा अन्तर्क्रिया गरेको छ ।

जुममार्फत गरिएको अन्तर्क्रियामा नेपाली चलचित्र क्षेत्र तथा यसमा श्रमको अवस्थाबारे चलचित्रजगतका हस्तीहरुसँग छलफल गरिएको नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं निफका अध्यक्ष केपी पाठकले बताए । अन्तर्क्रियामा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा सरकारले बौद्धिक सम्पत्ति (कपीराइट) को संरक्षण गर्नुपर्ने बताए । उनले यस क्षेत्रमा काम गर्नेहरुको उचित बिमाको व्यवस्था मिलाउन पनि आग्रह गरे । चलचित्रमार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्ने मौलिक कथाहरुको सिर्जना गर्न आवश्यक रहेको आचार्यको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको सिर्जना कसरी गर्ने, जनशक्तिको विकास कसरी गर्नेलगायत विषयमा गहन अध्ययनबिनै सुरु भएको उद्योगले थोरै मात्रामा भए पनि श्रमशक्ति स्थापित गर्न सफल भएको बताए । डिजिटल उपकरण, प्रविधि, दक्ष जनशक्ति पनि नेपाली चलचित्र उद्योगले विकास गरेको र श्रमिकहरुको क्रमिक रुपमा विकास भएको उनको भनाइ थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीहरुलाई दक्ष बनाउन एवं विश्वबजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यावसायिक बनाउन आवश्यक रहेको बताए । अध्यक्ष दाहाल भन्छन्, ‘राज्यले सिनेमा संस्कृतिको विकास गर्नुपर्छ, सिनेमाबारे बहस गर्नुपर्छ । सिनेमामा नयाँ प्रविधि भित्र्याउन पूर्ण भन्सार छुट गर्नुपर्छ ।’

अन्तर्क्रियामा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँलले निफको यो बहस अर्थपूर्ण रहेको बताए । उनले यस्ता कार्यक्रमले चलचित्र उद्योगका रुपान्तरणमा विशेष महत्त्व राख्ने बताए ।

अन्तर्क्रियामा बसुन्धारा भुसाल, सुरक्षा पन्त, सामाजिक सुरक्षा कोषका निर्देशक कमलमणि ज्ञवाली, अर्थशास्त्री विश्व पौडेललगायतको सहभागिता थियो ।

प्रतिक्रिया