मंगलबार, वैशाख ११, २०८१

निषेधाज्ञामा के गर्दै छन् कलाकारहरु ?

नेपालखोज २०७८ वैशाख २५ गते ९:००

कोही कौसी खेतीमा, कोही घरको सरसफाइमा, कोही भने योग र ध्यानमा । नेपाली सेलिब्रिटी कलाकारका लकडाउन दैनिकी भने यस्तो…

दीप श्रेष्ठ , वरिष्ठ गायक
विगत एक वर्षदेखि किसिम-किसिमकाे रुपमा देखा परेर याे काेराेनाले सारा संसारकाे जनजीवनलाई त्रासदीपूर्ण बनाएकाे छ । मन बहलाउन मर्निङवाक जाउँ भने निषेधाज्ञाका कारण सम्भव छैन । त्यसैले केही समय गितार बजाउँछु, केही समय गीत गाउँछु । कहिलेकाहीँ तरकारी केलाएर भान्साको काममा सघाउँछु । घरिघरि काेभिड-१९काे त्रासले आत्तिन्छु अनि हार्मोनियम लिएर आफ्ना प्रिय गीतकारहरुकाे शब्दमा संगीत भर्ने प्रयास गरिरहेकाे हुन्छु । तीमध्ये केही गीतकाे काम सकेर संगीत संयाेजन गर्न पठाइसकेकाे छु ।

सुरेश थापा दर्शने
बिहान बेलुका सामान्य व्यायाम गर्ने, ध्यान गर्ने, यु-ट्युबमा धार्मिक भिडियोहरु हेर्ने, कोरोनासम्बधी भ्रामक समाचार तथा भिडियो सकेसम्म नहेर्ने। समय-समयमा खाना अनि खाजा खाने। यसरी नै दिन काटिरहेको छु।

शम्भुजित बास्कोटा , वरिष्ठ संगीतकार
नयाँ कुराहरुसँग अपडेट हुँदै आफूले जानेकाे सुरक्षित हुने स्वास्थ्य मापदण्ड सेयर गर्ने र अरुकाे कुरा पनि सुन्ने सबैका प्रति सहयाेगी रहने । सिर्जनामा नियमित ध्यान दिने ।

चन्द्रकिशाेर झा, पत्रकार
घरभित्रका सामानहरू व्यवस्थित तुल्याउने, किताब पढ्ने, मातापिताको हेरचाह, भर्चुअल संवाद, रूखबिरुवाको गोडमेल अनि सामान्य व्यायाम ।

मिलन चाम्स, चलचित्र निर्देशक
घरमै बसेर साराे गाह्राे परेका साथीभाइलाई सहयाेग गरिरहेकाे छु । राेकएका चलचित्रका कामहरु पूरा गर्न पनि समय दिइरहेकाे छु ।

निर्मल शर्मा गैंडा, कलाकार
अलिअलि सामाजिक काम गरिँदै छ । बाँकी समय घरमै टीभीमा फिल्म हेर्दै , किताब पढ्दै फूलहरु स्याहार गर्दै अनि सुतेर बित्दै छ मेरो त, अफ्ठ्यारो परेकाहरुको समस्या सकभर समाधान गर्ने कोसिस पनि गर्दै छु ।

अञ्जली लामा, अन्तर्राष्ट्रिय तेस्रोलिंगी माेडल
आफ्नो दैनिकीलाई नियमितता दिने कुरा त छँदै छ ,राम्रो निद्रा र स्वास्थका लागि व्यायाम र याेगमा जाेड दिइरहेकी छु । घरमा बनाएकाे स्वस्थकर खाना खान्छु । अनि नेटफ्लिक्स र अमाजाेनमा सिनेमा हेर्छु ।

दीपक घिमिरे, नायक/माेडल
निषेधाज्ञा भन्नेबित्तिकै बाहिर ननीस्किने हो ! अब घरमा बसेर व्यायाम गर्ने योग गर्ने ! न्युज हेर्ने, किताब पढ्ने आदि काम गर्दै छु ! साथीहरुलाई सकेसम्म बाहिर ननीस्किऊ भन्छु ।

प्रमोद खरेल, गायक
परिवारसँग समय बिताउँदै छु । भ्वाइस अफ नेपालकाे काम घरबाटै गर्दै छु । केही नयाँ गीतको काम पनि चलिरहेको छ ।

सराेज खनाल, अभिनेता
मलगायत मेरो परिवार घरबाट कतै निस्किएका छैनौं ! बिहान करिब एक घण्टा व्यायाम/योग गरिन्छ । काम गर्ने मान्छे बाहिरबाट आउने भएकाले अहिले उसलाई छुट्टी दिइएकाले घरको सरसफाइमा आफैं १/२ घण्टा व्यस्त भइन्छ । कम्तीमा १ / २ वटा सिनेमा (स्वदेशी/विदेशी) हेरिन्छ। दुई घण्टा पढ्ने/लेख्ने काम हुन्छ भने कहिले-काहीँ परिवारका सदस्यसँग इन्डोर गेम (लुडो, तास) पनि खेलिन्छ । दिनमा १० घण्टा सुत्ने , २/३ घण्टा साेसल मिडिया तथा फाेनमा बिताउने आदि गरेर समय कटाइँदै छ ।

मिलन लामा, लाेकगायक
के हुनु ? समाचार सुन्ने ! गीत-संगीतको हल्का-फुल्का काम गर्ने, करेसाबारी गोड्मेल गर्ने । विदेशतिरका मित्रजनसँग कुराकानी गर्ने यस्तै त हो ।

प्राश्ना शाक्य, गायिका
इमेज एफएमकाे काम चलिरहेकै छ, राेकिएकाे छैन । याे ड्युटी भ्याइरहेकी छु । एनआरएनकाे एउटा ग्लोबल आइडलमा जज छु जसकाे काम अनलाइनबाट चलिरहेकाे छ । त्यसबाहेक पकाउने-खाने, मुभी हेर्ने, युटयुबमा राम्रा-राम्रा गीत सुन्ने त्यही त हो ।

मनाेज गजुरेल, हास्य कलाकार
सामान्य अध्ययन गरेर, टीभी हेरेर, योग अनि ध्यान गरेर लकडाउनको समय सदुपयोग गरिरहेको छु ।

अविनाश घिसिङ, गायक
म अहिले आयरल्यान्डकाे डर्बिन सहरमा छु । यहाँ पनि नेपालकै जस्तो लकडाउन चलिरहेकाे छ, खानेकुराबाहेक अरु सबै कुरा ठप्पै छ । फेमिली टाइम बिताउनेबाहेक अरु उपाय पनि छैन । नयाँ सिर्जनामा ध्यान पुर्‍याउँदै मुभीमा पनि समय कटाउँछु । भरखर छाेराको जन्म भएकाे छ, उसलाई पनि समय दिन्छु ।

पूजना प्रधान, नायिका
घर मै बसेर ध्यान-योग गरेर मन-मस्तिष्कलाई तनावमुक्त राख्ने प्रयासमा बिताइरहेकी छु।

उषा खड्गी, पूर्वमिस नेपाल तथा फेसन डिजाइनर
छाेराछाेरीकाे अनलाइन क्लास, भान्सामा नयाँ-नयाँ रेसिपीकाे प्रयोग अनि टिकटकमा मेकअप भिडियाे बनाउने गरेकी छु ।

सन्दीप क्षेत्री, कमेडियन
घरमा कहिल्यै नगरेकाे काम गरेर समय बिताउँदै छु ।

निराजन प्रधान, नायक/माेडल
पुस्तकहरु पढ्दै परिवारसँग समय बिताउँदै छु ।

युवराज चाैलागाई, गायक तथा संगीतकार
काेराेनाले मानव सभ्यतामै असर पुर्‍याइरहेको छ। याे समयमा सरकारद्वारा घाेषित निषेधाज्ञाकाे पूर्ण पालना गर्नु हाम्रो कर्तव्य हो । यतिबेला सकारात्मक साेचकाे विकास गर्दै एक-अर्काको हाैसला बढाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । बिहान याेग, कसरत र म्युजिकको रियाजलाई नियमितता दिइरहेकाे छु । खुसी र सुरक्षित रहने प्रयास गर्छु । संगीत सिर्जनामा पनि उत्तिकै ध्यान दिइरहेकाे छु । सामाजिक सन्जालमा नकारात्मक कुरा हेर्दिनँ, धार्मिक वा मनमा ऊर्जा भर्ने कुरा मात्र हेर्छु ।

दिवाकर भट्टराई, निर्देशक
ज्ञान ध्यान योग अनि पढ्ने लेख्ने काममा लगाएर समयको सही सदुपोग गर्दैछु ।

प्रतिक्रिया