मंगलबार, वैशाख ११, २०८१

लुम्बिनीका पालिकामा ६० आइसोलेसन सञ्चालनमा

नेपालखोज २०७८ वैशाख २५ गते १३:५३


रुपन्देही । कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा सङ्क्रमितको उपचार प्रभावकारी बनाउन लुम्बिनी प्रदेशका स्थानीय तहले आइसोलेसन निर्माणको कामलाई तीव्र बनाएका छन् ।

प्रदेशका अस्पतालमा अक्सिजन अभावका कारण कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारमा समस्या हुन थालेपछि स्थानीय तहले आ–आफ्ना पालिकामा अक्सिजन सिलिन्डरसहित आइसोलेसन निर्माण गरेका छन् ।

प्रदेशमा अहिलेसम्म नौ जिल्लाका पालिकाले ६० आइसोलेसन सेन्टर तयार गरेका छन् ।

ती आइसोलेसनमा एक हजार ८३ श्यया राखिएका छन् । अस्पतालबाहेक रुपन्देहीमा १३, कपिलवस्तुमा सात, दाङमा आठ, बाँकेमा १४, गुल्मीमा चार, अर्घाखाँचीमा पाँच र प्यूठानमा आठ तथा रुकुम पूर्वमा एक आइसोलेशन सेन्टर सञ्चालनमा छन् ।

बाँकी जिल्लामा पनि आइसोलेशन निर्माणको तयारी गरिएको छ । प्रदेशको स्वास्थ्य आठ जिल्लाका स्थानीय तहका आइसोलेशन सेन्टरमा मात्रै ३४२ सङ्क्रमितको उपचार भइरहेको छ ।

यीबाहेक प्रदेशमा चार विशेष कोरोना आइसोलेसन अस्पतालसहित १२ आइसोलेशन अस्पताल छन् । प्रदेशमा होम आइसोलेसनमा १४ हजार ४३६ कोरोना सङ्क्रमित छन् ।

रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोरोना सङ्क्रमण नियन्त्रण र उपचार प्रक्रियालाई प्रभावकारी बनाउन समुदायस्तरमा कोरोना परीक्षण गर्नाका साथै अक्सिजन बैंक सञ्चालन गरेको छ ।

नगरपालिकाले अहिलेसम्म अस्पतालमा श्यया नपाएका १२९ जनालाई अक्सिजन सिलिन्डरको व्यवस्था गरेको प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए । अस्पतालमा बिरामीले भरिएपछि नगरपालिकामा अक्सिजनको माग धेरै भएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले अस्पतालका लागि प्राथमिकता दिन ग्यास उद्योगलाई परिपत्र गरेपछि बैंकमा पर्याप्त अक्सिजन नभएको प्रवक्ता रेग्मीले बताए ।

नगरपालिकाले बुटवलको एन्फा एकेडेमीमा आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ११ र १३ को भवनमा थप आइसोलेसन सेन्टर बनाउने तयारी गरेको छ ।

तिलोत्तमा नगरपालिकाले शङ्करनगरमा ४० शय्या क्षमताको एक तहको अस्पतालको सुविधा रहेको आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ भने वडा नं ९ को केवलानीमा थप ६० श्ययाको आइसोलेसन सेन्टर बनाउन तयारी थालेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

तिलोत्तमाले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि आइसोलेसन सेन्टरमा पर्याप्त अक्सिजन सिलिन्डरको व्यवस्था मिलाउन अक्सिजन सिलिन्डर सहजीकरण तथा व्यवस्थापन समिति गठन गरेको छ ।

नगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी० को बैठकले नगर उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा राजनीतिक दल, व्यावसायिक सङ्घसंस्थाका प्रतिनिधि, कर्मचारी सहभागी रहेको समिति गठन गरेको हो ।

नगरप्रमुख वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सिसिएमसीको सचिवालय बैठकले आइसोलेसन सेन्टरमा पर्याप्त अक्सिजन सिलिन्डरको व्यवस्थापन गर्न नगर क्षेत्रभित्र रहेका उद्योगी, व्यापारी, सङ्घ–सङ्गठनलाई संस्थागत हिसाबले अनुरोध गर्ने निर्णय गरेको छ । सैनामैना नगरपालिकामा कोभिड–१९ विरुद्ध कोरोना अस्थायी आइसोलेसन अस्पताल सञ्चालनमा आएको छ ।

सैनामैना–१ स्थित पदमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा कोरोना विशेष अस्थायी आइसोलेशन अस्पताल निर्माण गरी सञ्चालनमा ल्याइएको नगर उपप्रमुख विना रानाले बताए ।

यति मात्रै होइन सैनामैनाले समुदायस्तरमा समेत कोरोना परीक्षण शुरु गरेको छ । यही वैशाख २७ गतेसम्म्ममा नगरका सबै वडामा स्वाब सङ्कलन र परीक्षणको काम गरिने नगरपालिकाले जनाएको छ ।

यस्तै देवदह नगरपालिकामा अक्सिजनसहितको २० शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरिएको छ । देवदह–७ मा रहेको मगर समाजको भवनमा आइसोलेसन सेन्टर सञ्चालन गरिएको नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले बताए ।

नगरपालिकाले समस्या देखिएका नगरवासीको निःशुल्क कोरोना परीक्षणसमेत शुरु गरिएको उनले बताए । जिल्लाको सिद्धार्थ नगरपालिकाले बसपार्कमै आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।

आइसोलेसन सेन्टरमा अक्सिजन सिलिन्डरसहितका २० शय्या रहेको नगर उपप्रमुख उमा काफ्लेले जानकारी दिए । लुम्बिनी सांस्कृतिक नगरपालिका–१० मा अक्सिजनसहितको २० शय्याको आइसोलेसन सञ्चालन गरेको छ ।

नगरमा कोरोना सङ्क्रमण देखिएका बिरामीलाई आसोलेसनमा राख्ने र थप समस्या देखिए अस्पताल पठाउने गरिएको नगरप्रमुख मनमोहन चौधरीले जानकारी दिए ।

बिरामीको सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र एउटा एम्बुलेन्सको समेत व्यवस्था गरिएको उनको भनाइ छ । लुम्बिनीले कोरोनाको रोकथामका लागि आइतबारदेखि समुदायस्तरमा कोरोना परीक्षणसमेत गर्न लागिएको छ ।

रोेहिणी गाउँपालिकाले पनि कोरोना सङ्क्रमितको उपचारका लागि पाँच शय्याको आइसोलेसन सञ्चालन गरेको छ ।

रोहिणी–३ मा रहेको धकधई प्राथमिक स्वास्थ्य केन्द्रमा केन्द्रीय सरकारको रु १० लाखको सहयोगमा आइसोलेसन तथा कोरोना विशेष अस्पताल सञ्चालमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए। अस्पतालमा विशेषज्ञसहितको समूहले बिरामीलाई उपचार सेवा दिएको छ ।

जिल्लाको शुद्धोधन गाउँपालिकाले पनि मोतिपुर स्वास्थ्य केन्द्रको स्तरोन्नति गरी पालिकाका नागरिकलाई सेवा दिएको छ । पाँच शय्याको स्वास्थ्य केन्द्रलाई दशमा पु¥याएर कोरोना सङ्क्रमितको उपचारलाई प्रभावकारी बनाउन लागिएको प्रवक्ता राजेन्द्र कँडेलले जानकारी दिए ।

प्रतिक्रिया