मंगलबार, जेठ १, २०८१

एफएनसीसीआईको ‘हेल्लो डाक्टर’

नेपालखोज २०७८ वैशाख २५ गते १५:०५



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रम ‘हेल्लो डाक्टर’ सुरु गरेको छ ।

महासंघले कोभिड–१९ को नया भेरियन्टको संक्रमणको महामारिबाट आक्रान्त आमसर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम् प्राथमिकतामा राखी एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको हो ।

विपत्तिमा मुलुक पर्दा मुलुकवासीहरूको सहयोगार्थ महासंघले संस्थागत सामाजिक उत्तरदायित्वलाई मनन गरी हरेक पटक सहयोग पु¥याउंदै आएको यसको इतिहास छ ।

महाभूकम्पमा होस वा बाढी पहिरोको महाविपत्ति, महासंघले विगतमा पनि अग्रभागमा रहेर सहयोग गर्‍यो, महासंघले विज्ञप्तिमार्फत भनेको छ ।

एफएनसीसीआई अपरेसन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत पहिलो कार्यक्रमको रूपमा आजबाट हेल्लो डाक्टरको शुभारम्भ भएको छ ।

एफएनसीसीआई अपरेसन कोभिड रिलिफ अभियानअन्तर्गत थप अन्य कार्यक्रमहरूसमेत ल्याउने तयारीमा महासंघ रहेको छ ।

हेल्लो डाक्टर कार्यक्रम महासंघद्वारा संचालन गरिएको हो, जसमा भाइवरको सहकार्य रहेको छ भने डाक्टर अन कलका चिकित्सकहरूले स्वास्थ्य परामर्शदाताका रूपमा सेवा प्रवाह गर्ने छन् ।

हेल्लो डाक्टरमार्फत स्वास्थ्य परामर्श दिने कार्य भोलि वैशाख २६ गते आइतबारबाट सुरु हुने महासंघले जानकारी दिएको छ ।

कोभिड संक्रमित भई घर वा आइसोलेसनमा बसेका र चिकित्सकको सल्लाह परामर्श लिन कठिनाइ भएकाहरूले हेल्लो डाक्टरमार्फत भरपूर सहयोग लिन सक्नेछन् ।

हेल्लो डाक्टर, भाइबरमार्फत कोभिड संक्रमित बिरामी र डाक्टरबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ । प्रारम्भमा पाँचजना डाक्टरहरूबाट परामर्शको कार्य थालनी गरिनेछ ।

त्यसका लागि बिहान ९ बजे देखि १२ बजेसम्म र दिउँसो ३ बजेदेखि ६ बजेसम्मका लागि समय छुट्टयाइएको छ । नाम दर्ता गर्न बिरामीले २११११२११११ भाइबर नम्बरमा म्यासेज गर्नुपर्नेछ र सोही म्यासेजका आधारमा डाक्टरसँगको परामर्शको समय बिरामीलाई पठाइनेछ ।

त्यसपछि डाक्टरहरूले भिडियो कलमार्फत बिरामीहरूसंग संवाद गरी स्वास्थ्य परामर्श दिने छन् । म्यासेजमा विरामीले आफ्नो नाम, उमेर र ठेगाना खुलाउनुपर्नेछ ।

यो सेवा निःशुल्क हुने छ भने देशैभरका सबै संक्रमितहरूले यो सेवा लिन सक्ने छन् । रोग संक्रमितहरूलाई प्रविधिको प्रयोगमार्फत डाक्टरहरूसंग प्रत्यक्ष भेट गराई उनीहरूलाई स्वास्थ्य परामर्श दिने र आपतकालिन अवस्थामा बाहेक अस्पतालसम्म जान नपर्ने वातावरण बनाई दिने उद्देश्यअनुरुप यो कार्यक्रमको थालनी गरिएको हो ।

यसबाट कोभिड संक्रमण नियन्त्रणमा समेत सहयोग पुग्ने विश्वास महासंघको छ । हेल्लो डाक्टरमार्फत सिधै डाक्टरसँग परामर्श गर्न पाइने हुँदा कोभिड संक्रमित बिरामीमा देखिने चिन्तालाई कमी गर्न र बिरामीको आत्मबल बढाउन सहयोग पुग्ने दाबी महासंघका अध्यक्ष शेखर गोल्छाको छ । महासंघले थालनी गरेको यो स्वास्थ्य अभियानबाट बढीभन्दा बढी लाभ उठाउन अध्यक्ष गोल्छाले सबैमा अनुरोध गरेका छन् ।

आमसर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउने कार्यमा महासंघले अग्रभागमा रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत अध्यक्ष गोल्छाले जनाए ।

मुलुकले कहिल्यै भोग्नु नपरेको यो महामारीबाट संक्रमित र मृत्यु हुनेको संख्या हरेक दिन नयाँ रेकर्ड राख्दै बढिरहेको छ । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम् कर्तव्य भएकाले आ-आफ्नो ठाउँबाट यस अभियानमा सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघ सबैमा गम्भीर आग्रहसमेत गर्दछ ।

प्रतिक्रिया