मंगलबार, जेठ १, २०८१

कोरोनाका कारण ८ पत्रकारको निधन, ६५० भन्दा बढी संक्रमित

नेपालखोज २०७८ वैशाख २५ गते १५:१४

काठमाडौं । कोरोना (कोभिड-१९) संक्रमणका कारण अहिलेसम्म आठ पत्रकारको निधन भएको छ । यस्तै ६५० भन्दा बढी पत्रकार कोरोना संक्रमित रहेको नेपाल पत्रकार महासंघले विज्ञप्तिमार्फत जनाएको छ ।

यसैबीच आज बिहान मात्र कोरोना संक्रमणका कारण नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य दिनेश दाहालको निधन भएको छ । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका ४० वर्षीय पत्रकार दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको महासंघका केन्द्रीय सचिव रोशन पुरीले जनाएका छन् ।

विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय दाहालले जनप्रहार साप्ताहिकमा लामो समयसम्म सम्पादकका रुपमा काम गरेका थिए । पत्रकार दाहाल पछिल्लो समय सिपोस्ट न्युज डटकमका सम्पादक/प्रकाशकका रुपमा पत्रकारितामा सक्रिय थिए । ‘पत्रकार दाहालको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको छ,’ महासचिव पुरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । दाहालका एक छोरा, एक छोरी र श्रीमति छन् ।

पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेको छ । ‘कोरोना संक्रमणको चुनौतीपूर्ण यो अवस्थामा महासंघ सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा अपिल गर्दछ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया