बिहीबार, वैशाख १३, २०८१

दोलखा भीमेश्वरको शिलामा पसिना आयो

नेपालखोज २०७८ वैशाख २५ गते १८:२३


दोलखा । प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा १ घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ वजेर ३० मिनेट जाँदासम्म शिलामा पसिना आएको स्थानीय समाजसेवी भरत प्रधानले जानकारी दिए ।

यस पटक शिलाको बाँया र बीच दुबै भागमा पसिना आएको उनले बताए । बायाँ पसिना आउँदा अनिष्ट हुने बताइएको छ । यस पटक बाँया र बीचभाग दुबैमा आएको छ ।

भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भीमेसनको शीलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्ट, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र शीलालाई चम्मरले हम्किने चलन छ ।

भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्ट सहित सबै प्रकारका बाजा बजाइन्छ । पसिना आएको खवर सार्वजनिक हुना साथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए ।

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गर्ने गरिन्छ । साथै शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन रही आएको छ ।

पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले जानकारी समेत गराइसकेको छ । आइतबार राष्ट्रपति कार्यालयलाई भीमेश्वरको महाप्रसाद पठाइने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए ।

शिलामा पसिना आएपछि प्रजिअ लगायत सुरक्षा निकायका प्रमुख मन्दिर परिसरमा पुगेका थिए । भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिहरुसँग बैठक राखेर राष्ट्रप्रमुख समक्ष महाप्रसाद पठाउने चलन अनुसार आइतबार राष्ट्रपति कार्यालयमा प्रसाद पठाउने निर्णय गरिइएको बताइएको छ ।

महाप्रसाद लिएर सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहाकार र जनप्रतिनिधि सहितको टोली आइतबार नै राष्ट्रपति कार्यालयमा जाने बताइएको छ ।

प्रतिक्रिया