बुधबार, वैशाख १२, २०८१

राजीनामाको तयारीमा माधव नेपाल समूह

नेपालखोज २०७८ वैशाख २६ गते १६:०६

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले आज सामूहिक राजीनामा दिने भएका छन् । केहीबेरअघि सुरु भएको नेता नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठकमा नेताहरुले अब राजीनामा दिएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका थिए ।

बैठकमा सहभागी नेता सोमप्रसाद पाण्डेले आफूहरु राजीनामा दिने तयारीमा पुगेको सुनाए । स्रोतका अनुसार नेता नेपाल पक्षधर २१ जना प्रत्यक्ष निर्वाचित सांसद र १० जना समानूपातिक सांसदले आजै राजीनामा दिने भएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसद्‌मा विश्वासको मत लिँदै छन् । त्योभन्दा अघि नै नेपाल पक्षले आज राजीनामा दिन लागेको हो । नेपाल पक्षको यो निर्णयसँगै नेकपा (एमाले) अब औपचारिक रुपमा फुट्ने भएको छ । प्रधानमन्त्री ओलीले पनि विश्वासको मत नपाउने प्रस्ट भएको छ ।

कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । आज मात्रै पनि जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै पुगेर विश्वासको मत नदिने र आफूहरु तटस्थ बस्ने सन्देश सुनाएका थिए ।

प्रतिक्रिया