बिहीबार, चैत १५, २०८०

नेपाल सुपर लिग : शीर्ष स्थानमा रहँदै काठमाडौं प्लेअफमा प्रवेश

नेपालखोज २०७८ वैशाख २६ गते १९:४४

काठमाडौं । काठमाडौं रेजर्स शीर्ष स्थानमा रहदै पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्ले अफमा प्रवेश गरेको छ ।

आइतबार भएको लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौं शीर्ष स्थानमा रहदै प्ले अफमा पुगेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउ र संजोक राईले एक एक गोल गरे ।

चितवनका राजिब लोप्चनले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा मेसौके ओलोमोउले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । विश्वास उदासको लामो पासमा चितवनका दुई डिफेन्डरलाई बिट गर्दै मेसौकेले गोल गरेका हुन् ।

खेलको ३४ औं मिनेटमा संजोक राईले गोल गर्दै काठमाडौंलाई २-० को अग्रता दिलाए । विश्वास श्रेष्ठको पासमा चितवनका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा संजोकले गोल गरेका हुन् । ३८ औं मिनेटमा चितवनका जर्ज प्रिन्स कार्कीको क्रसमा सुनिल श्रेष्ठको फ्री हेडरले पोस्टको दिशा लिन सकेन ।

जितसँगै काठमाडौंले ६ खेलमा १३ अंक जोड्यो । अब काठमाडौंले प्ले अफमा दोस्रो स्थानको धनगढी एफसीसँग खेल्नेछ । चितवनले भने पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ । चितनले ६ खेलमा २ अंक जोड्यो ।

प्रतिक्रिया