बिहीबार, वैशाख १३, २०८१

पेट्रोल छर्की आगो लगाएर फरार भएका साह पक्राउ

नेपालखोज २०७८ वैशाख २७ गते ११:२८


सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिए ।

घारीबथानका ५८ वर्षीय शियाशरण रायलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिए ।

उनका अनुसार यही वैशाख २० गते घरअगाडिको आँपको बगैँचामा बसिरहेका रायको शरीरमा पेट्रोल छर्की आगो लगाएर फरार भएको साहमाथि आरोप छ ।

शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएका रायलाई तत्कालै उपचारका लागि धनुषाको लालगढ मोडल अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको कीर्तिपुर अस्पताल लगेर उपचार गराउने क्रममा रायको वैशाख २१ गते मृत्यु भएको थियो ।

घटनापछि फरार भएका साहलाई मलङ्गवा नगरपालिका–५ भाडसरस्थित नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक राठौरले बताए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साह वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा बसेर फर्किएका थिए । उनी फर्किएको २४ घण्टा नबित्दै उक्त घटना घटेको स्थानियवासीले बताएका छन् ।

प्रतिक्रिया