बिहीबार, वैशाख ६, २०८१

पर्सामा र चितवनमा थप १३ सङ्क्रमितको मृत्यु

नेपालखोज २०७८ वैशाख २७ गते ११:३८

पर्सा । बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमुनियाबाट ग्रसित रहेको पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

वीरगन्जको नारायणी अस्पातलमा भर्ना रहेका वीरगन्ज–३ छपकैया निवासी ७२ वर्षीया महिलाको आइतबार दिउँसो १२ः१५ बजे, पर्साको विन्दवासनी गाँउपालिका–४ निवासी ५० वर्षीया महिलाको आइतबार अपराह्न ४ः१५ बजे, पर्साको बहुदरामाई नगरपालिका–२ निवासी ६० वर्षीय पुरुषको आज बिहान ९ः०० बजे र बाराको निजगढ–७ निवासी ६० वर्षीय पुरुषको आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसै वीरगन्जको तराई अस्पतालमा भर्ना रहेका वीरगन्ज–१० निवासी ६० वर्षीय पुरुषको आइतबारे दिउँसो, नेशनल मेडिकल कलेजको अस्थायि कोभिड उपचार केन्द्रमा भर्ना रहेकी पर्साको पकहामैपुर गाँउपालिका– ५ निवासी ३८ वर्षीया महिलाको आइतबार साँझ र वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना रहेकी ६० वर्षीया महिलाको आइतबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए ।

त्यस्तै चितवनमा छ सङ्क्रमितको मृत्यु भएकाे छ । यहाँका दुई अस्पतालमा आइतबार राती मात्र छ सङ्क्रमितको मृत्यु भएकाे हाे । चितवन मेडिकल कलेजमा उपचाररत पाँच जनाको र भरतपुर अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दुई चितवनका र अन्य बाहिरी जिल्लाका छन् ।

भरतपुर महानगरपालिका–३ सहिदचोकका ८३ वर्षीया वृद्धाको भरतपुर अस्पतालमा मृत्यु भएको छ । निमोनिया भई यही वैशाख १६ गते अस्पताल भर्ना भएकी उनमा १७ गते सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः१० बजे मृत्यु भएको हो ।

पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ का ३९ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । निमोनियाको समस्या भई अस्पताल आएका उनमा यही वैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनी कोरोना पुष्टि भएसँगै २४ गते चितवन मेडिकल कलेजमा उपचारका लागि आएका थिए । उनको अस्पतालको कोभिड सघन उपचार कक्षमा आज बिहान मृत्यु भएको हो ।

नवलपरासीको कावासोतीका एक वृद्धको कोरोनाका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपालिका–५ का ६१ वर्षीय पुरुष रहेका छन् ।

निमोनियाको समस्या आई यही वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।

कोरोना सङ्क्रमणका कारण कपिलवस्तुको तौलिहवा नगरपालिका–१ बस्ने ६० वर्षिय पुरुषको मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २३ गते चितवन मेडिकल कलेज भर्ना भएका उनमा सोही दिन सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख १७ गते अस्पताल भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार राती मृत्यु भएको हो ।

यसैगरी रुपन्देहीकै देवदह नगरपालिका–९ का ४१ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजका अनुसार निमोनियाको समस्या भई वैशाख २२ गते अस्पताल भर्ना भएका उनामा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतबार मृत्यु भएको हो ।

प्रतिक्रिया