बिहीबार, वैशाख ६, २०८१

आइसोलेसन शय्याको अभाव, बेन्चमा सङ्क्रमितको उपचार

नेपालखोज २०७८ वैशाख २७ गते १६:४०


गोरखा । गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन शय्या नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता बनेको छ ।

पछिल्लो समय सङ्क्रमण वृद्धिभएपछि बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो ।

छ शय्या मात्र आइसोलेसन रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए । “दुई शय्यामा महिला र चार शय्यामा पुरुष सङ्क्रमित छन्, उनीहरुसबैलाई अक्सिजन दिनुपर्छ । थप बिरामीलाई भर्ना गर्नसक्ने अवस्था छैन ।”

ती बिरामीमा ज्वरो आउने र अक्सिजनको मात्रा घटेको पाइएको छ । अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नभएपछि अस्पतालले अक्सिजनदिनु नपर्ने बिरामीहरुलाई भने होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाउने गरेको छ ।

दोस्रो चरणको सङ्क्रमण शुरु भएपछि अहिलेसम्म जिल्ला अस्पतालमा २४ सङक्रमित उपचार गराउन आएकोमा छ जना बाहिरी जिल्लाबाट उपचारका लागि रिफर गरिएको छ ।

यसैगरी १२ जना उपचारपछि निको भएर घर फर्किएको उनले जानकारी दिए । आज बिहान थप पाँच जना बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने भएपछि अस्पताल बाहिर नै राखेर सङ्क्रमितको उपचार थालिएकोे उनको भनाइ छ । जिल्ला अस्पतालमा बाहेक आइसोलेसन शय्या निर्माण गरिएको छैन ।

आइसोलेसन श्यया नहुँदा उपचारकालागि सम्भव भएका बिरामीलाई समेत अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसोलेसनको अभाव भएपछि अस्पतालको नयाँ बन्दै गरेको भवनमा तत्कालका लागि ३० शय्याको आइसोलसन निर्माणको प्रयास भइरहेको सूचना अधिकारी ढकालले जानकारी दिए ।

अस्पतालको ओपिडी कक्ष नजिकै नयाँभवन बन्दै गरेको छ । जिल्ला अस्पताल भित्र आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० जना पुगेको स्वास्थ्य कार्यालका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिए ।

प्रतिक्रिया