शुक्रबार, वैशाख १४, २०८१

‘काठमाडौंमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्र बनाउँछौं’ (भिडियोसहित)

नेपालखोज २०७८ वैशाख २८ गते १४:४७

काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज काठमाडौंको बसुन्धारामा संचालन हुन लागेको ‘राधा स्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर’को निरीक्षण गरेका छन् ।

निरीक्षणकै क्रममा उपप्रधानमन्त्री पोखरेलले तत्कालै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र मुख्य सचिव डा. शंकरदास बैरागीलाई टेलिफोन गरी आइसोलेसन केन्द्र सञ्‍चालन गर्ने प्रबन्ध मिलाउन निर्देशन दिए ।

उपप्रधानमन्त्री पोखरेलको निर्देशनपछि यसैसाताबाट नेपाली सेनाले आइसोलेसन केन्द्र संचालनमा ल्याउने तयारी गरेको छ ।

तत्काल ८८ शय्याको अक्सिजन थेरापी सुविधासहित संचालन हुन लागेको यो आइसोलेसन केन्द्रका लागि राधास्वामी केन्द्रले भवन उपलब्ध गराएको हो । आवश्यकता अनुसार २ सय बेडसम्म संचालन गर्ने तयारी गरिएको छ ।

आइसाेलेसन केन्द्रका लागि चाहिने पूर्वाधारका लागि काठमाडौँ महानगरपालिकाले बजेटको व्यवस्था गरेको छ भने नेपाली सेनाले उपचार, सुरक्षा र व्यवस्थापनको जिम्मेवारी लिएको छ । यो आइसाेलेसन केन्द्र संचालनमा आएपछि कोरोनाका बिरामीहरुको उपचारमा थप राहत मिल्ने विश्वास लिइएको छ ।

काठमाडौँमा उपलब्ध ठूला भवनहरुलाई आइसोलेसन केन्द्रका रुपमा संचालन गरी कोरोना संक्रमितहरुको उपचार गर्ने सोच बनाइको सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले बताए ।

निर्धक्क रुपमा बिरामीको उपचारमा लाग्न नेपाली सेनालाई आग्रह गर्दै उनले सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने बताए ।

उपप्रधानमन्त्री पोखरेललाई नेपाली सेनाका क्लिनिक रजिष्टार महासेनानी डा. सुमनराज डंगोलले आइसाेलेसन केन्द्रको बारेमा जानकारी गराएका थिए । निरीक्षणका क्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोललगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया