बिहीबार, वैशाख १३, २०८१

स्थानीय तहद्वारा अक्सिजनसहितको आइसोलेसन तयार

नेपालखोज २०७८ वैशाख २८ गते १८:३३


नुवाकोट । कोभि-१९ का सङक्रमितहरु बढ्दै गएपछि स्थानीय तहले पूर्व तयारीलाई ध्यान दिन थालेका छन् । हालसम्म यहाँका तीन स्थानीय तहले आइसोलेसन कक्ष तयार गरेका छन् ।

विदुर नगरपालिका, तादी र शिवपुरी गाँउपालिकाले आइसोलेसन कक्ष तयार गरेका हुन् । विदुरले बट्टारको खेलकुद कभर्ड हलमा ५० शय्याको अक्सिजन सहितको आइसोलेसन बनाएको छ ।

सङ्क्रमितलाई मध्यनजर राख्दै आइसोलसेन तयार गरिएको नगर प्रमुख सन्जु पण्डितले जानकारी दिइन् । तादीका अध्यक्ष नारायणप्रसाद पाण्डेले खरानीटार अस्पतालमा अक्सिजन सहितको २० शय्या तयारी अवस्थामा राखिएको जानकारी दिए ।

पालिकाले कोरोनाको आशंका लागेमा अस्पतालमा स्वाव सङ्कलन गरी परीक्षणको लागि पठाउने व्यवस्था समेत गरेको जनाएको छ । शिवपुरीले अक्सिजन सहितको २० शय्या आइसोलेसन तयार गरेको छ ।

गाउँपालिका अध्यक्ष रामकृष्ण थापाका अनुसार कोरोनाको दोस्रो लहर समुदायस्तरमै फैलिदै गएपछि अक्सिजन सहितको शय्या तयार गरेको बताए । जिल्लामा पछिल्ला दिनमा सङ्क्रमणको दर बढ्दै गएको छ ।

आज जिल्लामा एकै दिन ६२ जना नयाँ सङ्क्रमित थपिएका छन् । ८७ जनाको स्वाव परीक्षण गरिएका मध्ये ती सङ्ख्यामा पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाका दुई बिरामी निको भएका छन् भने एक जनाको ज्यान गएको छ । हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५७८ पुगेको छ ।

२०७७ फागुन ११ गतेबाट सक्रिय सङ्क्रमित विहीन भएको जिल्लामा गत चैतको २३ गते नयाँ संक्रमित फेलाको थियो । यसपछि सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

प्रतिक्रिया