शुक्रबार, चैत १६, २०८०

ऊनबाट बनेका सामग्रीले बजार पाएनन्

नेपालखोज २०७८ वैशाख ३१ गते १५:१४


रुकुम । भौगलिक रुपमा विकट रुकुम –पूर्वका कृषकले पूर्खौँदेखी भेडा बाख्रापालन गर्दै आएका छन । जिल्लाको माथिल्लो भेगमा मगर समुदायको बाहुल्यता छ ।

यी समुदायका नागरिकले भेडाको ऊनबाट विभिन्न सामग्री निर्माण गरेर आम्दानी गर्दै आएका छन् । पछिल्लो समय बढ्दो आधुनिकतासँगै ऊनबाट बनेका सामग्रीले बजार नपाउँदा भने राडीपाखी व्यवसाय सङ्कटमा परेको छ ।

पुथाउत्तरगंगा गाउँपालिका -१० तकसेराकी बिजुली बुढा आफुले थाहा पाउने भएदेखी भेडाको ऊनबाट बन्ने सामाग्री बनाउँदै आउनु भएको छ । घरमा भेडा बाख्रापालन हुने भएकाले उहाँ सानैबाट धागो कात्ने, राडीपाखी, पटुका, टोपी, पञ्जा, मोजा, गलैँचा, स्वीटर, घुम लगायतका सामाग्री बनाए ।

पहिला यी सामाग्रीले सहजै बजार पाउँथे । अहिले उत्पादन भएपनि बिक्री नहुँदा पेशा सङकटमा परेको बिजुली बताए । पुथाका अधिकांश ठाउँमा भेडापालन गरिन्छ भने भूमेका चारवटा वडामा पनि भेडाबाख्रा पालन हुँदै आएको छ ।

भेडाका ऊनबाट बनेका सामग्री बनाउने र बिक्री गर्ने गरेका स्थानीयवासीको रोजगारी त्यसैबाट भएको थियो । पछिल्लो समय आधुनिक प्रविधि र आयातित कपडाका कारण परम्परागत रूपमा हरेक घरमा बुनिँदै आएको राडी, पाखी र बख्खु विस्तारै लोप हुन थालेका छन् ।

जिल्लामा यी सामाग्री बुन्न महिला बढी सक्रिय छन् । परम्परागत यो पेशालाई उद्योगको रुपमा स्थापना गर्ने उनीहरुको चाहना छ । यसमा सरकारले सहयोग गर्नुपर्ने पृथा-११ कि सीता बुढा मगरको भनाइ छ ।

भेडाको रौँबाट ऊन तयार पारेर राडी, पाखी र बख्खु बुन्ने कार्य कठिन त छँदैछ र त्यसका लागि समय पनि लामो लाग्छ । पहिले पहिले परम्परागत हस्तकलाका यस्ता सामाग्री रुकुमपूर्वका प्रायः घरमा बुन्ने चलन थियो ।

अहिले त्यस्ता सामग्री आफन्तलाई कोशेली पठाउन मात्र बुन्ने गरिन्छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वका उद्योग अधिकृत ताराप्रसाद शर्मा भने उद्योग सञ्चालनका लागि आवश्यक सहयोग गर्ने बताए ।

राडीपाखी उद्योग सञ्चालका लागी प्रदेशबाट पनि यस वर्ष जिल्लामा रु १० लाख बजेट प्राप्त भएको उनले जानकारी दिए । सामूहिक तथा व्यक्तिगत रुपमा उद्योग दर्ता गरी सञ्चालन गर्न कृषक तथा व्यवसायीलाई आग्रह गरिएको अधिकृत शर्माले बताए ।

पुराना पुस्ताले गाउँमै बुनिएको कपडाहरू प्रयोग गर्दै आएपनि नयाँ पुस्ताले प्रयोग नगर्ने र पेसा संरक्षणमा पनि चासो नदेखाएको कारण भविष्यमा राडी, पाखी र बख्खुहरू देख्न नपाइने स्थानीयबासीको चिन्ता छ ।

प्रतिक्रिया