बिहीबार, वैशाख ६, २०८१

नेपालमै अक्सिजन सिलिण्डर निर्माण प्रक्रिया अघि बढ्यो

नेपालखोज २०७८ वैशाख ३१ गते २१:२६

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमै अक्सिजन सिलिण्डर निर्माण प्रक्रिया अघि बढाएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत सामग्री उपयोग गरी अक्सिजन सिलिन्डरको अभाव सकेसम्म छिटो पूर्ति गर्ने उद्देश्यका साथ नास्टले यसको तयारी थालेको बताईएको छ । यसका लागि नास्टले उद्योग क्षेत्रसँग सहकार्यको हात समेत अघि बढाएको छ ।

नास्टका तर्फबाट वैज्ञानिक तथा वरिष्ठ प्राविधिक अधिकृत शंकर ढकालले यो परियोजनाको नेतृत्व गरिरहेका छन् भने उद्योग क्षेत्रबाट इन्जिनियर सुजन श्रेष्ठ, कृष्णा ढकाल तथा पूर्णराज सुवेदी यसमा संलग्न छन् । वैज्ञानिक ढकालका अनुसार सिलिण्डरको मोड्युल तथा प्रोटोटाइप तयार भइसकेको छ ।

‘अक्सिजन सिलिण्डर टेस्टिङका लागि पनि नेपालमा अहिलेसम्म कुनै पूर्वाधार उपलब्ध छैन,’ उनले भने, ‘यस्तो अवस्थामा हामी आफैंले टेस्टिङको डिजाइन र सेटअप पनि बनाउनुपर्ने भएको छ ।’

कोरोना भाइरसको पहिलो लहरसँगै नास्टले ‘नास्ट कोभिड ( १९ कम्ब्याड मिसन’ अन्तर्गत कोभिडसँग जुध्न सकिने प्रविधिको विकासमा अग्रसरता देखाएको थियो । जसमा हालसम्म तीन दर्जनभन्दा बढी विज्ञ तथा प्राविधिक आवद्ध भैसकेका छन् ।

नेपालमा अक्सिजन सिलिण्डर बनाउने तथा परीक्षण गर्ने कार्य अहिलेसम्म हुन नसकेको भए पनि एलपीजी ग्याँस सिलिण्डरको भने काम भैरहेको छ । कोशी ग्याँस र नेपाल ग्याँसले नेपालमै एलपीजी ग्याँस सिलिण्डर निर्माण एवं परीक्षणको काम गर्दै आएका छन् ।

नास्टमा विकास गरिएको अक्सिजन सिलिण्डर ति ग्याँस उद्योगको ल्यावमा परीक्षण गर्ने प्रयास समेत भएको थियो । एलपीजी ग्याँस सिलिण्डर १५ केजी प्रति वर्ग सेन्टिमिटरको चाप धान्नसक्ने किसिमले बनाइएका हुन्छन् तर अक्सिजन सिलिण्डरले भने १सय५० केजी प्रति वर्ग सेन्टिमिटरको चाप थेग्नुपर्ने हुन्छ । यस्तोमा ग्याँस सिलिण्डरको टेस्टिङ उपकरणको क्षमता र सेटअपमा अक्सिजन सिलिण्डरको परीक्षण हुन सक्दैन ।यद्यपि अहिले नास्टमै अक्सिजन सिलण्डर परीक्षणको सेटअप समेत बनाउन थालिएको छ ।

हाल नेपालमा चीन र भारतमा बनेका अक्सिजन सिलिण्डर प्रयोग गरिन्छ । भारतमै अक्सिजन सिलिण्डरको चरम अभाव भैरहेक बेलामा नेपालले चीनबाट सहयोग मागिरहेको छ । चीनबाट अक्सिजन सिलिण्डर ल्याउन धेरै समय र खर्च लाग्ने भएकाले पनि नेपालमै यसको विकास गर्न थालिएको नास्टले जनाएको छ । तयार पारिएको अक्सिजन सिलिण्डर ‘प्रेसर टेस्ट’मा सफल देखिए नेपालका उद्योगहरुमा तत्कालै यसको निर्माण प्रारम्भ गर्न सकिने दाबि गरिन्छ । यो डिजाइनले परीक्षण पश्चात नास्टबाट मान्यता प्राप्त गरेको खण्डमा नेपालका जुनसुकै उद्योगले निश्चित मापदण्डमा रहेर व्यावसायिक रुपमा अक्सिजन सिलिण्डर बनाउन सक्छन् ।

चीन र भारतबाट आउने अक्सिजन सिलिण्डरमा प्रयोग भएकै धातु प्रयोग गरी त्यही स्वरुप तथा डिजाइनमा अक्सिजन सिलिण्डर विकास गरिएको छ । नास्टमा विकास भएको अक्सिजन सिलिण्डरको परीक्षण सफल भएको खण्डमा हाल कोरोना महामारीका कारण नेपालमा देखिएको विद्यमान अक्सिजन अभावमा ठूलो सहयोग पुग्नेछ ।

प्रतिक्रिया