मंगलबार, वैशाख २५, २०८१

पोखरामा बतास फाउन्डेसनको सक्रियतामा अक्सिजन प्लान्ट निर्माण अभियान

नेपालखोज २०७८ जेठ २ गते १६:५१

पोखरा । पोखरामा बतास फाउण्डेसनको सक्रियतामा अक्सिजन प्लान्ट निर्माण अभियान सुरु भएको छ । कोरोनाका बिरामी दैनिक बढ्दै गएको र उनिहरुलाई अक्सिजन चाहिन भएपनि गण्डकी प्रदेशकै सबैभन्दा ठूलो अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अहिलेसम्म अक्सिजन प्लान्ट निर्माण हुन सकेको छैन् ।

बिरामीको आवश्यकतालाई मध्यनजर गर्दै फाउण्डेसनको सक्रियतामा अक्सिजन प्लान्ट निर्माण अभियान सुरु गरिएको हो ।फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको पहलमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा प्लान्ट बनाउने अभियान सुरु भएको हो । यसका लागि अहिलेसम्म विभिन्न व्यक्ति र संस्थाबाट ३ करोड रुपैयाँ दिने प्रतिवद्धता आएको अध्यक्ष बतासले बताए ।

‘२ करोड ९७ लाख रुपैयाँ दिन्छु भनेर प्रतिवद्धता आइसकेको छ । प्लान्टलाई आवश्यक मेसिन ल्याउने काम पनि सुरु गरिएको छ,’ उनले भने । फ्रान्सबाट प्लान्टका लागि आवश्यक सामान ल्याउने तयारी भइरहेको अध्यक्ष बतासले जानकारी दिए ।

सरकारले कार्गो भाडा व्यवस्थापन गरिदिए अझै सहज हुने र सरकारसँग पनि छलफल भइरहेको उनको भनाइ छ । ‘हामीले २ सय सिलिन्डरसम्म उत्पादन हुने मेसिन ल्याउने भनेका थियौँ । जानकारले मेसिन बिग्रिए उत्पादन ठप्प हुन सक्छ भन्नुभयो,’ उनले भने, ‘५०(५० सिलिन्डर उत्पादन गर्न सक्ने ल्याउँदा एउटा बिग्रिए पनि अर्कोले काम गर्छ भनेपछि त्यही गर्दै छौँ ।’

सोचेअनुसार काम भए दुईदेखि तीन महिनाभित्र क्षेत्रीय अस्पतालमा प्लान्ट तयार हुने उनले बताए । अहिले कोभिडका बिरामीलाई अक्सिजन चाहिने र ठूलो अस्पतालमा नै प्लान्ट नहुँदा हुन सक्ने समस्यालाई मध्यनजर गर्दै आफू प्लान्ट निर्माण अभियानमा लागेको अध्यक्ष बतासले सुनाए ।

उनले आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका संस्था र व्यक्तिलाई खातामा पैसा जम्मा गरिदिन आग्रह गरेका छन् । फाउण्डेसनले इच्छुक संस्था र व्यक्तिलाई पोखरास्थित ग्लोबल आईएमई बैंकको खाता नम्बर ६५०१०१००००४७७ मा सहयोग रकम जम्मा अपिल गरेको छ । प्राप्त सहयोगलाई सामाजिक सञ्जालमार्फत पारदर्शी बनाइने फाउण्डेसनले जनाएको छ । अध्यक्ष बतासले सहयोग संकलन मात्रै होइन, आफ्नैतर्फबाट पनि प्लान्टका लागि ठूलो धनराशि सहयोग गरेका छन् ।

बतास फाउन्डेसनमार्फत २५ लाख रुपैयाँ, बतास अर्गनाइजेसको सिस्टर अर्गनाइजेसन बी-रिभर माइनिङ प्रालिबाट २५ लाख रुपैयाँ र लाइफ अटोमोबाइल्स प्रालिबाट ३ लाख रुपैयाँ गरेर ५३ लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रतिक्रिया