सोमबार, वैशाख २४, २०८१

नेपाल चेम्बरद्वारा सरकारी अस्पताललाई स्वास्थ्य सामग्री वितरण

नेपालखोज २०७८ जेठ २ गते १६:४७


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेट लगायत अत्यावश्यक सामग्रीहरू वितरण गरेको हो ।

चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा आइतबार सामग्रीहरू वितरण गरेको हो ।

चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपक कुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड-१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ ।

उक्त अभियानअन्तर्गत बिरामीहरूको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्रीहरू वितरण गरिएको चेम्बरले जनाएको छ ।

वीर अस्पतालका तर्फबाट प्रा. डा. रमिला श्रेष्ठले स्वास्थ्य सामग्री बुझिन भने त्रिवि शिक्षण अस्पतालका प्रा. डा. पवनराज चालिसेले सामग्रीहरू बुझे । यस्तै क्षेत्रपाटी निःशुल्क चिकित्सालयबाट डा. मनोज श्रेष्ठले स्वास्थ्य सामग्रीहरू बुझे ।

यस्तै चेम्बरको टोलीले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहलाई स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ ।

कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागाईँलाई सामग्रीहरू हस्तान्तरण गरेको छ । परोपकार मातृ तथा बाल अस्पतालका डा. आशालक्ष्मी प्रजापतिले सामग्रीहरू बुझिन ।

अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथासिघ्र सिलिन्डर तथा अक्सिजन कन्सेन्टेटर आयात गरी एक साताभित्र अस्पतालहरूमा वितरण गरिने नेपाल चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लसहित वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मलहोत्रा र उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरू नवराज ढकाल र सन्तोष पाण्डेको उपस्थिति थियो ।

प्रतिक्रिया