बिहीबार, जेठ ३, २०८१

राष्ट्रियसभा उपनिर्वाचन ९ बजेदेखि सुरु हुँदै

नेपालखोज २०७८ जेठ ६ गते ७:२५

काठमाडौं । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा सुरु हुँदै छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ।
शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ । मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ ।

हेटौंडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ । केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिनेछ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि भर्चुअल माध्यमबाट आजै आउने आयोगले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानुनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलोपटक उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया