बिहीबार, जेठ ३, २०८१

सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने एमालेका मन्त्रीलाई कारबाही हुने

नेपालखोज २०७८ जेठ ८ गते १२:२२

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने चेतावनी दिएका छन् ।

पार्टीले सरकारबाट फिर्ता हुन एक महिनाअगाडि गरेको निर्णय नमान्ने मन्त्रीलाई कारबाही गरिने उनको भनाइ छ । उनकाअनुसार एमालेको प्रदेश कमिटी बैठकले गत चैत १५ गते सरकारबाट बाहिरिने निर्णय गरेको दुई महिनासम्म पनि सरकारबाट नबाहिरिएकालाई पार्टीले कारबाही गर्ने भएका हो ।

“हाम्रो पार्टीको प्रदेश कमिटीको बैठकले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ”, थापाले भने, “माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई पार्टीले कारबाही गर्छ ।”

माओवादी केन्द्रले नेतृत्व गरेको एमाले र नेकपा (माओवादी केन्द्र)को संयुक्त सरकारमा अहिले एमालेका तीन मन्त्री रहेका छन् । एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाह, सामाजिक विकासमन्त्री कृष्ण सुवेदी र उद्योग, वन तथा वातावरणमन्त्रीमा माया भट्ट छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानूनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया