शनिबार, जेठ ५, २०८१

रेखा थापा भन्छिन्- धैर्यको सीमा तोड्ने बेला आएन र ?

नेपालखोज २०७८ जेठ ८ गते १९:४१

काठमाडौं । अभिनय, चलचित्र निर्देशन अनि निर्माणसँगै समाजसेवा तथा राजनीतिमा पनि उत्तिकै चासो अनि सक्रियता देखाउँदै आएकी कलाकार रेखा थापाले देशमा विकसित राजनीतिक परिस्थितिप्रति कडा प्रतिक्रिया जनाएकी छन् ।

थापाले फेसबुकमा लेखेकी छन्, ‘देश कोरोनाको वैश्विक महामारी कहाली लाग्दो आतंकमा परेको छ । मानवजाति र महामारीबीचको लडाइँमा आ-आफ्नो राजनीतिक स्वार्थका रोटी सेक्ने लाजमर्दो दौडधूप पनि चलेकै छ । नागरिकको जीवनरक्षा गर्न सबै दलले भोट र विश्‍वास त पाएकै छन (आकार फरक होला) । प्रधानमन्त्री फेरिएर कोरोना भाग्ने होइन होला र अर्को सरकार वा चुनाव भएर पनि जमिनी यथार्थ फेरिँदैन । हामी नेपाली र यो राजनीतिले आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने, बोल्ने र तर्क गरुन्जेल आमजनता सधैं निरिह रैती मात्र हुने भए । यस्तो बेलामा पदको पछाडि होइन आफूले पाएको मत र मतदाता बचाउने जिम्मेवारीमा अगाडि उभिनुपर्ने होइन र ? लाखौं मान्छेले मत दिएका माननीय अनि पार्टीहरु- गुनासो र गाली गर्ने चौतारो हुन् ?’

अभिनेत्री थापाको आक्रोश छ- ‘लासहरुले पनि हृदय नछुने पापी व्यवस्थामा अब राजनीति अझ घृणित हुने देखिन्छ । यी अनुहार सिंहदरबार छिरेको कति वर्ष भयो ? जनताको रक्षाका लागि यिनीहरुले आफ्नो-आफ्नो पालामा के-के गरेका थिए ? अस्पताल र स्वास्थ्य प्रणाली यस्तो बनाउन को-को जिम्मेवार छन् ? हिसाब व्यक्ति र व्यवस्था दुवैको हुनुपर्छ ।’

थापाले अन्त्यमा लेखेकी छन्, ‘जनताले आफ्नो धैर्यको सीमा तोड्ने बेला आएन र ?’

प्रतिक्रिया