शुक्रबार, जेठ ४, २०८१

भारी हिमपात र वर्षाले ५० वटा भेडाबाख्रा मरे

रासस २०७८ जेठ १० गते ७:३५

हुम्ला । केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् ।

नाम्खाको रानीखर्क र सिमकोट-८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् ।

वर्षाको समयमा उच्च हिमाली क्षेत्रमा चरनका लागि लगेको भए पनि अत्यधिक हिमपात हुँदा घरमा ल्याउँदै गर्दा १५० भेडाबाख्रामध्ये ५० वटा हिउँमा परेर मरेको बुढाले जानकारी दिऐ । बाँकी बाख्रासमेत झोक्राएर बस्ने गरेको उनले बताए । उपचारका लागि सम्बन्धित निकायलाई सहयोग गरिदिन उनले आग्रह गरेका छन् ।

दशकौँपछि एक्कासि वैशाखमा भएको हिमपातले आफ्नो रोजीरोटी खोसिएको उनको भनाइ छ । जिल्लामा एउटा भेडाको मूल्य रु १० हजारसम्म पर्छ ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया