शुक्रबार, जेठ ४, २०८१

साहित्यकार बानिरा गिरीको निधन

नेपालखोज २०७८ जेठ १० गते १२:०१

काठमाडौं । साहित्यकार बानिरा गिरीको निधन भएको छ । ७५ वर्षीया बानिराको निधन हिजो (आइतबार) राति १० बजे भएको हो ।

२० दिनअघि कोरोना संक्रमण देखिएकी गिरीको निधन हृदयाघातले भएको जनाइएको छ । उनको मीनभवनस्थित निजामती कर्मचारी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बानिरा विगत ३ वर्षदेखि उनी अल्जाइमर रोगले पीडित थिइन्।

साहित्यकार बानिराको जन्म अप्रिल ११, १९४६ मा खर्साङ, दार्जिलिङमा भएको हो । काठमाडौंको मीनभवनमा बस्दै आएकी गिरिले नेपाली साहित्यमा विद्यावारिधिका साथ एमए, एमएड गरेकी थिइन् ।

शिक्षण तथा लेखनमा सक्रिय गिरी कारागार, निर्बन्ध, जीवन थामहरू, एउटा जिउँदो जंगबहादुर, मेरो आविष्कार आदि कृतिकी लेखिका पनि हुन् ।

उनी मानविकी विषय लिएर स्‍नातकोत्तर पढ्न २०२२ सालमा काठमाडौं आएकी थिइन् । उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने प्रथम नारी पनि हुन् ।

रत्नश्री स्वर्ण पदकल, गोरखा दक्षिण बाहु चौथा, लोकप्रिया देवी पुरस्कार-२०४८, साझा पुरस्कार-२०५६, महाकवि देवकोटा पुरस्कार- २०७३ आदिबाट सम्मानित बानिरा आफ्नो परिवारको ६ जना सन्तानमध्ये सबैभन्दा कान्छी थिइन् । उनको बाल्यकालको नाम सत्यदेवी थियो ।

२०२३ सालमा शंकर गिरीसँग विवाह गरेकी गिरीको एक छोरी अपराजिता र एक छोरा छन् ।

कवि लेखक गोविन्द गिरी प्रेरणाले एउटा प्रसंगमा लेखेका छन्- बानिराले आफ्नो जीवनको अधिकांश समय त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा अध्यापनमा खर्च गरिन् । तर, अध्यापनमा उनलाई सन्तुष्टि थिएन । उनले पाउनुपर्ने प्रमोसनहरु नपाउँदा अदालतसम्म पुग्नुपर्ने दुर्भाग्य व्यहोरेकी थिइन् । अन्ततः उमेरका कारण अवकाश लिइन् ।

प्रेरणाले २०७६ मा प्रकाशित एउटा स्मरणमा उल्लेख गरेका थिए- विगत केही वर्षदेखि उनी डिमेन्सिया अर्थात् स्मृतिलोप हुने रोगबाट ग्रस्त भएर विस्मृतिको संसारमा बाँचिरहेकी छिन् । यो अल्जाइमरको प्रारम्भिक अवस्था हो । बानिरामा झन्डै ४ वर्षअघि डिमेन्सियाको लक्षण देखापरेको थियो ।

तर, अवस्था त्यति चिन्ताजनक थिएन । तर, दुई वर्षअघि तीनपल्ट निमोनियाँ भएपछि भने उनी नराम्ररी गलिन् । त्यसमाथि शौचालयमा लडेपछि त उनलाई हिँडडुल गराउन पनि सहयोगी नभई नहुने अवस्था थियो ।

प्रतिक्रिया