शुक्रबार, जेठ ४, २०८१

ग्रान्डीमा पीसीआर परीक्षण ल्याब सञ्चालन

नेपालखोज २०७८ जेठ १६ गते १३:१७

काठमाडौं । काठमाडौंको टोखामा सञ्चालित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा पीसीआर परीक्षण ल्याब सञ्चालनमा आएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षणका लागि ग्रान्डीले पीसीआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको हो ।

अस्पतालका महाप्रबन्धक विकासमान सिंहले अत्याधुनिक मेसिन जडान गरी पीसीआर परीक्षण ल्याब सञ्चालनमा ल्याएको जानकारी दिए । ‘धर्मफिसर क्वान्ट स्टुडियो फाइभ’ नामक मेसिनबाट एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्नेछ ।

उक्त मेसिन जडानका लागि ग्रान्डीले एक करोड ५० लाख रुपैयाँ खर्च गरेको छ । “पीसीआर परीक्षण ल्याब जडानसँगै अब बिरामी, अस्पतालका चिकित्सक तथा कर्मचारी पीसीआर परीक्षणका लागि अन्य अस्पताल तथा स्वास्थ्य संस्था धाउनु पर्दैन”, महाप्रबन्धक सिंहले भने ।

स्वाब सङ्कलन गरेको पाँचदेखि छ घण्टाभित्र बिरामीको रिपोर्ट आइसक्ने उक्त ल्याबमा कोभिडबाहेक अन्य भाइरसको समेत परीक्षण गर्न मिल्ने ल्याबका प्रमुख डा रञ्जना पराजुलीले जानकारी दिए । “ल्याबमा कोभिडबाहेक एचआइभी एड्स, हेपाटाइटिस, इन्फ्लुएन्जा, जीनलगायतको परीक्षण गर्न मिल्छ”, उनले भने ।

एक पटकमा ९६ जनाको परीक्षण गर्न मिल्ने सो ल्याबमा दैनिक झन्डै ३ सय सङ्क्रमितको परीक्षण गर्न मिल्नेछ । आगामी दिनमा बिरामीको चाप अनुसार सेवा विस्तार गर्दै लैजाने अस्पतालले जनाएको छ ।

ग्रान्डीले हाल ७० भन्दा बढी कोरोना बिरामीको उपचार गरिरहेको छ । विसं २०६९ मा स्थापना भएको ग्राण्डीमा २सय भन्दा बढी शय्यामार्फत बिरामीको उपचार हुँदै आएको छ ।

प्रतिक्रिया