शुक्रबार, जेठ ४, २०८१

सबै स्थानीय तहमा एन्टिजेन परीक्षण गरिने, सहरमा एन्टिबडी परीक्षण गर्न विज्ञको सुझाव

नेपालखोज २०७८ जेठ १७ गते १४:३२

काठमाडाैं । नेपालका सबै जिल्लामा कोरोना भाइरस सङ्क्रमण फैलिएपछि सबै स्थानीय तहमा समुदाय स्तरमा एन्टिजेन परीक्षण गर्ने कार्य अघि बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

समुदाय स्तरमा फैलिएको भनेर त हामीले अलि अगाडि नै घोषणा गरेकै हो । अहिले सबैतिर परीक्षण गरौं, चाँडै आइसोलेसन गरौं भनेर एन्टिजेन हरेक स्थानीय तहमा पठाउने गरी काम अघि बढाएका छौं मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले बताएका छन् ।

उनका अनुसार मन्त्रालयले स्थानीय तहहरूमा एन्टिजेन र आवश्यक सामग्री पठाउन सुरु गरिसकेको छ । उनले भने अहिले हामीसँग एन्टिजेन पनि छ, प्रशस्त आउने क्रम पनि सुरु भएको छ ।

तर स्थानीय तहमा पठाइएका झन्डै ११ लाख एन्टिजेन किटबाट भइरहेका परीक्षणको विवरण समयमा प्राप्त नहुँदा केही दिनदेखि परीक्षणको सङ्ख्या कम देखिएको अधिकारीहरूले बताएका छन् ।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण पत्ता लगाउन पीसीआर र एन्टिजेन गरी दुईवटा परीक्षण विधि अपनाइएको छ । केही दिनदेखि कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको छ । तर परीक्षण गरिएका मानिसमा सङ्क्रमण देखिने दर भने खासै नघटेको तथ्याङ्कले देखाएको बीबीसीले उल्लेख गरेको छ ।

वैशाख ७ गते विवरणमा सबैभन्दा बढी २२,३५३ जनाको परीक्षण भएको देखिएकामा आइतवार त्यो सङ्ख्या झरेर १२,७७० पुगेको देखियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता पनि रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडैल लक्षण भएका अथवा अस्पताल जानैपर्ने मानिसले मात्र परीक्षण गर्न गएकाले पनि त्यसो भएको हुन सक्ने बताउँछन् ।

‘अर्को, एन्टिजेन हामीले समुदायमै वितरण गरेका छौं । सातवटै प्रदेशमा पुर्‍याउँदा डेढ लाखदेखि दुई लाख (किट) सम्म प्रत्येक प्रदेशलाई वितरण गरेको अवस्था छ । एन्टिजेन परीक्षणको रिपोर्ट आएपछि परीक्षण अलिकति बढेको देखिएला,’ उनले भने ।

डा. पौडेलका अनुसार एन्टिजेन परीक्षणको नतिजाबारे सूचना पाउन पनि केही चुनौती छन् । सबै ठाउँमा इन्टरनेट त्यही लेभलको छैन, सबै ठाउँबाट सूचना जम्मा हुँदै, जिल्ला अनि प्रदेश र केन्द्रमा आउन पनि समय लागेको हुन सक्छ, उनले भने ।

स्थानीय तहबाट जिल्ला र प्रदेश हुँदै केन्द्रसम्म विवरण आएमा परीक्षणको सङ्ख्या बढेको देखिने उनको भनाइ छ । एन्टिजेन परीक्षण स्थानीय स्तरमै गर्न सकिने र सङ्क्रमितको सम्पर्कमा आएका र लक्षण देखिएका अन्य व्यक्तिको पीसीआर परीक्षण गर्न तोकिएको ठाउँका प्रयोगशालामा जान सम्भव नभएकाले प्रयोगशालामा आउनेको सङ्ख्या पनि घटेको हुन सक्ने अनुमान छ ।

मन्त्रालयले सबै स्थानीय तहमा एन्टिजेन परीक्षण गर्ने योजनाअनुसार गत साताबाट स्थानीय तहहरूमा परीक्षण किट पठाउन थालिएको मन्त्रालयले जनाएको छ । कतिपय विज्ञहरू भने काठमाडौं उपत्यका र धेरै सङ्क्रमण फैलिएका सहरी क्षेत्रमा अहिले एन्टिजेन परीक्षण गर्नुभन्दा एन्टिबडी परीक्षण गर्न उपयुक्त हुने सुझाव दिन्छन् ।

त्यस्तैमध्येका एक शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका भनाइमा सहरी क्षेत्रमा अब सङ्क्रमण घट्दो क्रममा रहेकाले एन्टिजेनभन्दा एन्टिबडी परीक्षण आवश्यक देखिएको हो ।

उनी भन्छन्, ‘दुई-चार साताअघि एन्टिजेन गरेको भए अझ राम्रो हुन्थ्यो। अब सहरी क्षेत्रमा एन्टिबडी परीक्षण गरेर कतिलाई सङ्क्रमण भएको रहेछ त भन्ने पत्ता लगाउन सकिन्छ, एन्टिजेनमा त अब कमै सङ्ख्या देखाउन सक्छ।’

स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रमा अहिले सङ्क्रमण व्यापक फैलिएको खबरहरू आइरहेकाले त्यतातिर एन्टिजेन परीक्षण व्यापक बनाउनुपपर्ने डा. पुनको धारणा छ।

‘अब त गाउँगाउँमा फैलिसकेको खबर आइरहेका छन्। त्यसैले गाउँमा व्यापक रूपमा एन्टिजेन परीक्षण गरेर पोजिटिभ आउनेलाई अलग्गै राखिहाल्नु पर्छ ‘।

कतिपय जनस्वास्थ्यविद्हरूले नेपालमा ‘अहिले घरैपिच्छेजस्तो सङ्क्रमण देखा परिरहेकाले’ समुदाय स्तरमा व्यापक परीक्षण गर्नुका साथै विभिन्न स्थानमा सर्वेक्षणका रूपमा पनि परीक्षण गरेर सङ्क्रमणको वास्तविक अवस्था पत्ता लगाउन सुझाव दिँदै आएका छन् ।

यद्यपि अहिले सर्वेक्षणका रूपमा समुदाय स्तरमा विभिन्न विधिबाट परीक्षण गर्नेबारे छलफल चलेपछि निर्णय भइनसकेको मन्त्रालयका सहप्रवक्ता अधिकारीले बताए ।

डा. अधिकारीका अनुसार समुदायमा परीक्षणका लागि काठमाडाैं उपत्यकाभित्रका तीनवटै जिल्लाका स्थानीय तहलाई मन्त्रालयले नै एन्टिजेन उपलब्ध गराइसकेको छ ।

काठमाडाैं महानगरपालिकाले शुक्रबारदेखि त्यस्तो परीक्षण सुरु गरिसकेको छ । महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जारी गरेको सूचनामा ‘सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका, कोभिडको लक्षण देखा परेका, अग्रपङ्क्तिमा रहेर काम गरिरहेका र निषेधाज्ञामा पनि सेवा प्रदान गरिरहेका’को एन्टिजेन परीक्षण गरिने उल्लेख छ । अन्य जिल्लाका स्थानीय तहहरूका लागि प्रदेश सरकारबाट एन्टिजेन वितरण हुने डा. अधिकारीले बताए।

प्रतिक्रिया