बिहीबार, वैशाख २०, २०८१

विदेशी चिकित्सकसँग नियमित छलफल गर्दै उपचार

रासस २०७८ जेठ २१ गते १२:२४

चितवन । चितवनको एक अस्पतालले भारतीय विशेषज्ञ चिकित्सकसँग नियमित छलफल गरेर कोभिड उपचार गर्दै आएको छ । लेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालले भारतीय चिकित्सकसँग छलफल गरेर उपचार गर्दै आएको हो ।

अस्पतालले भारतको चेन्नाइमा रहेको ग्लोबल हस्पिटलका विशेषज्ञ चिकित्सकसँग कोभिड उपचारबारे जुममार्फत नियमित छलफल गर्दै आएको छ ।

अस्पतालका आवासीय निर्देशक डा मनोहर प्रधानका अनुसार हरेक दिन दिउँसो २ः३० बजे यहाँका कोभिड उपचारमा संलग्न क्रिटिकल केयरका चिकित्सक स्वास्थ्यकर्मी र ग्लोबल हस्पिटलका वरिष्ठ चिकित्सकबीच सङ्क्रमितका विषयमा अन्तक्र्रिया हुने गरेको छ । प्रधानले भने, ‘सङ्क्रमितमध्ये २० प्रतिशत जति जटिल हुने गर्दछन् । उनीहरूको एक(एक गरेर हामी छलफल गर्छौँ।’

यहाँ गरिरहेको उपचार पद्दति, बिरामीको अवस्था, प्रयोगशालाका नतिजालगायत विषयमा छलफल गरी सुधार गर्नुपर्ने विषय टिपोट गरेर उपचार गरिन्छ । ग्लोबल हस्पिटलका सङ्क्रामक रोग विशेषज्ञ डा सुप्रमन्यमको नेतृत्व चार वरिष्ठ चिकित्सक अन्तक्र्रियामा सहभागी हुने उनले जानकारी दिए। 

सङ्क्रमितलाई कसरी उपचार गर्दा निको पार्न सकिन्छ भन्नेबारे पछिल्लो अनुभव र प्रविधिका विषयमा छलफल गरिन्छ । प्रधानले भने, ‘हामीले सङ्क्रमितलाई उत्तानो पारेर सुताउँथ्यो, तर घोप्टो पारेर सुताउँदा श्वासप्रश्वासमा सहज हुने र अक्सिजनको मात्रा बढ्ने थाहा भएसँगै त्यसै गरेका छौँ ।’

यो अन्तक्र्रियाबाट यहाँका क्रिटिकल केयरमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीले धेरै ज्ञान प्राप्त गरेको र उनीहरूको आत्मबलसमेत बढेको उनको भनाइ छ ।

सुरूका दिनहरुमा सङ्क्रमित नजिक जानसमेत डराउने स्वास्थ्यकर्मी जुम मिटिङसँगै बिरामीसँग नजिकिने गरेका छन् । पछिल्ला अनुसन्धान र उपलब्धिका विषयमा स्वस्थ्यकर्मीले यसबाट थाहा पाएका छन् । सङ्क्रमितलाई कस्ता औषधि चलाउने भन्ने विषयमा गहन छलफल हुने गरेको छ । 

प्रधानको भनाइमा कोभिडको पहिलो लहर नेपालमा आएसँगै गत वर्षको साउनदेखि ग्लोबल हस्पिटलसँग सहकार्य गरिएको हो । यस मेडिकल कलेजले पहिलो लहरमा २२० सङ्क्रमितको उपचार गरेको थियो ।

दोस्रो लहरमा हालसम्म ३५० जनाको उपचार गरिसकेको छ । अस्पतालमा ९० शय्याको कोभिड सघन उपचारकक्ष, ४० शय्याको एचडीयू र ७० साधारण शय्या रहेका छन् ।

रासस

रासस नेपालको राष्ट्रिय समाचार एजेन्सी हो । नेपालखोज राससको आधिकारिक ग्राहक पनि हो ।

प्रतिक्रिया